Karnali Media
२०८३ साउन १० , आइतबार

इजरायलमा मृत्यु भएकाको शव नेपाल ल्याउन केही समय लाग्ने



इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोद नेभेगको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ ।

इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनमा चुनौती सामना गरिरहेको छ । यद्यपि नेपाली विद्यार्थीहरुको शवलाई भने इजरायल सरकारले आफ्नै खर्चमा पठाउने भएको छ ।

असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमासले अन्धाधुन्ध गोली गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । चारजना घाइते भए भने एकजनाको अवस्था अज्ञात छ ।


इजरायलमा ठूलो संख्यामा हताहती भएकाले शव पहिचान र व्यवस्थापन चुनौती छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । १३ सय शवको पहिचान भइसकेको छैन, जसमा विदेशी नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै नागरिकको पहिचान गर्न समय लाग्ने भएकाले शव पठाउन ढिलाइ हुने भएको हो । इजरायलमा विदेशीसहित सबैको फ्रिङ्गरप्रिन्ट राखिन्छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाली मारिएको खबर पाएलगत्तै उचित ढंगले शव व्यवस्थापन गर्न इजरायली पक्षसँग समन्वय गरिएको जनाएकी छन् । उनले शवलाई क्षेत्रगत हिसाबले अलग(अलग रुपमा छुट्याएर राखिएको जानकारी दिइन् ।

यसैबीच इजरायलमा पहिलो नेपाली मिडियाका रुपमा कान्तिपुर टिमका तीनजना सहकर्मी रिपोर्टिङका लागि पुगेका छन् । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, कान्तिपुर दैनिकका होम कार्की र प्रकाशचन्द्र तिमिल्सेना इजरायलमा भइरहेको युद्धको रिपोर्टिङका लागि पुगेका हुन् ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार