वीरेन्द्रनगर, (सुर्खेत) ।
श्रीकृष्ण सामुदायिक वनको बाटोमा पैदल यात्रा गर्दै हामी साउन ११ गते शुक्रबार तारेभीर पुग्यौं जहाँ वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फोहोर बिसर्जन गर्न बनाईएको अव्यवस्थित ल्याण्ड फिल्ड साइट छ । त्यही फोहोरको डङ्गुरमा आफ्नो जिवन खोतल्दै थिइन, वीरेन्द्रनगर–१, कि शान्ति नेपाली ।
शान्तिका श्रीमान् राम बहादुर नेपाली कुनै बेला नेपाल सेनामा कार्यरत थिए । माओवादीसँगको युद्दमा कोखामा गोली लागेर घाइते उनी अहिले हलचल गर्न सक्दैनन् । रामबहादुरको जीवन विस्तारामै पल्टिएर गइरहेको छ । परिवार पाल्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने श्रीमान्को हालत ओछ्यानमा परेपछि घरको सबै जिम्मेवारी शान्तिकै काँधमा छ ।
‘फोहोरले रोग लाग्छ भन्ने त थाहाँ छ तर मलाई रोगभन्दा पनि भोक मेटाउनु छ’, शान्ति भन्छिन्, ‘तिन छोरी एक छोरालाई अलिअलि भएनी शिक्षा दिन पाएँ र श्रीमान्लाई औषधी खर्च र खाना खर्च जुटाउन कै लागि जोखिम मोलेर फोहोरसँग खेल्नु परेको छ ।’ यो बाहेक शान्तिसँग अन्य कुनै आयआर्जनको उपाय छैन । फोहोरबाट प्लाष्टिकका बोतल छुट्टाएर शान्तिले कबाडमा बेच्ने गर्छिन् । उनले महिनामा जसोतसो ६ देखि ८ हजार रुपैयाँसम्म कमाउछिन् ।
शान्ति मात्र होइन, फोहोरमा जिवनका सपना देख्नेहरु अरु पनि छन् । यस्तै, वीरेन्द्रनगर–१ कै लीला नेपालीको जीवनको कथा पनि उस्तै दर्दनाक छ । ड्राइभर पेशा गरेर घर चलाइरहेका लीलाका श्रीमान्को पनि दुर्घटनामा दुवै खुट्टा भाँचिए जसका कारण उनी हिँडडुल नै गर्न नसक्ने अवस्थामा छन् । ज्याला मजदुरी गरेर श्रीमान् र छोराछोरीको खर्च व्यवस्थापन गरिरहेकी लीला पनि हिजोआज त्यहि फोहोरको डंगुरमा भेटिन्छिन् ।
‘मलाई साह्रै समस्या छ, छोरीलाई जसोतसो १२ पढाएँ अहिले पढ्न छोडि, छोरालाई पढ् भनेको मेरो दुःख देखेर ८ कक्षामा पढेर भारत तिर लाग्यो ।’ फोहोरमा काम गरेर भोली रोग लाग्ला भन्दा पनि आजको छाक कसरी टार्ने भन्ने चिन्ता लिला र शान्ति मात्रै होइन् यहाँ भेटिने यस्ता दर्जनौ दिदिबहिनीलाई छ ।
वीरेन्द्रनगर नगरपालिका १ बस्ने हरिसरा नेपाली र पुष्पा नेपाली विगत ५ बर्षदेखि डम्पिङ साइडमा काम गर्दै आएका छन् । फोहोरका ट्याकरहरुले फालेको फाहोरलाई सोरेर मिलाउने काम नगरपालिकाले उनीहरुलाई दिएको छ । तर, कुहिने र नकुहिने मिश्रित फोहोरले उनीहरुलाई काम गर्न चुनौती छ । चुनौतीका बिच फोहोरसँग खेलिरहेका उनीहरुलाई नगरपालिकाले सुरक्षित काम गर्ने वातावरण बनाउनतर्फ ध्यान दिएको छैन । जसका कारण जनस्वास्थ्यका दृष्टिकोणले गर्नै नहुने काममा संलग्न हुन बाध्य छन् उनीहरु । मास्क, पञ्जासमेत नलगाई काम गरिरहेका उनीहरु नगरपालिकाले मास्क, पञ्जा दिनसमेत वेवास्ता गर्दै आएको बताउँछन् ।
औषधी प्रयोग पश्चात फालिएका सिरीन्ज, फुटेका काचहरु मिसिएको फोहोर मिलाउँदै गरेकी पुष्पा नेपालीले विगत पाँच बर्षदेखि काम गर्दै आएको र एक बर्षदेखि नगरपालिकाले नियुक्ती दिएर राखेको भएपनि आफ्ना समस्याप्रति कोही जिम्मेवार नबनेको उनी बताउँछिन् ।
‘दिनमा कयौँ पटक हस्पिटलका सिरीन्जहरु हात खुट्टामा बिज्छन् । कति पटक सिसाले काट्छन् । यहाँको दुर्गन्धको त बानी जस्तै बनिसक्यो । कोरोना, डेङ्गी पनि लाग्यो तर नगरपालिकाले केही पनि गरेन’, उनले भनिन्,‘ आफ्नै खर्चबाट उपाचार ग¥यौँ । कोरोना महामारीमा सबै घर भित्रै हुँदा समेत हामी यहि ठाउँमा फोहोरलाई मिलाउँदै हुन्थौँ । तर, हाम्रो आजसम्म स्वास्थ्य बीमासमेत भएको छैन ।’
नगरपालिकाले फोहोरमा काम गर्ने यी महिलाई उचित पारिश्रमिकसमेत दिएको छैन । मासिक १३ हजारमा नगरपालिकाले उनीहरुलाई जोखिमपूर्ण काममा लगाउँदै आएको छ । उनीसँगै डम्पिङ साइडमा काम गर्दै आएकी हरिसरा नेपालीले सबै फोहोर ट्याकरले ल्याएर एकैठाउँमा फाल्ने गरेको दूखेसो गरिन् ।
‘हामिले यसलाई सोरेर मिलाउँछौ । यस्तो काम गर्दा हाम्रो स्वास्थ्यमा धेरै समस्या आएको छ’, उनले भनिन्, ‘हाम्रो समस्या कसैले पनि सुन्दैनन्, के गर्नु काम गर्नुपर्ने बाध्यता छ ।’ वीरेन्द्रनगरले फोहोर संकलनदेखि बिसर्जन केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउन नसक्दा विशेष गरी महिलाहरु क्यान्सरलगायतका घातक रोगको सिकार भइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
बाल पाेलिकिल्नीकका बाल रोग विशेषज्ञ डा.नवराज के.सीले फोहोर संकलन गर्दै गर्दा कुहिने र नकुहिने वर्गिकरण नगरेका कारण समस्या वीरेन्द्रनगरमा आएको बताउछन् । उनका अनुसार वीरेन्द्रनगरमा फेरी धेरै प्लाष्टिक जलाउने प्रचलन छ त्यो निकै समस्या निम्त्याउने उपाय हो । ‘वर्षामा ज्वरो, झाडापखाला, रुघाखोकी, प्लाष्टिक जथाभावी फाल्दा पानी जम्मा भएर लामखुट्टे धेरै जन्मिदा डेंगीको जोखिम धेरै हुन्छ’, उनी भन्छन्, ‘वीरेन्द्रनगरको एउटा ठुलो जोखिम खडा गर्ने विषय यो फोहोर हो अब ।’
नगरपालिकाले डम्पिङ साइटको फोहोर व्यवस्थापनमा महिलाहरुलाई न्यून पारिश्रमिकमा असुरक्षित तरिकाले काममा लगाइरहेको उल्लेखित दृश्यबाट पुष्टि हुन्छन् । वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद उपशाखा प्रमुख यामलाल गिरीले नगरपालिकाबाट फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीले सरकारले तोकेको न्युनतम सेवासुविधा पाउने बताउछन् । कर्मचारीले आफुलाई करार सेवामा भएको विर्सिएर बाहिर काम गर्ने दैनिक ज्यालादारी कर्मचारीको तुलना गरेकाले थोरै सेवासुविधा पाएको महशुुस गरेको गिरीले बताए ।
‘दैनिक ज्यालादारीले बाहिरी लेबर बराबर पाउछन् तर रोजगारीको भर हुदैन तर नगरपालिकाले त करारमा राखेको हो नी, रोजगारीको ग्यारेन्टी, विदाको दिनको पनि पैसा पाइन्छ, विरामी विदा हुन्छ’, उनी भन्छन्, ‘नगरपालिकाले उहाँहरुको सुरक्षाका लागी माक्स, पन्जा दिएको छ र उहाँरुले लिएको स्टोरमा रेकर्ड पनि छ ।’ फोहोर व्यवस्थापनमा खटिने कर्मचारीले पनि आफ्नो स्वास्थ्यको ख्याद आफुले पनि गर्नुपर्छ भन्ने सोचेर च्यातिनु अघि पालिकामा खबर गर्नुपर्ने गिरीले बताए ।
यति मात्र कहाँ हो र ? डम्पिङ साइटको फोहोर र त्यसको दूर्गन्धले स्थानीयहरु विस्थापित हुनुपर्ने अवस्था पनि सिर्जना भएको छ । वीरेन्द्रनगर–१ धारापानीका बिर्मा फौंजाको घर झिंगा र लामखुट्टेको सास्तीसँगै डम्पिङ साइटको दुर्गन्धले बस्न नसक्ने अवस्था भएको छ । नगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोर उनकै घर छेउमा रहेको श्रीकृष्ण सामुदायिक वनमा अव्यवस्थित ढंगले फाल्दै आएको छ । उक्त फोहोरका कारण नै फौंजासहित करिब १६० घरधुरीलाई दुर्गन्धका कारण बस्नै सकस भइरहेको छ ।
‘ट्रयाक्टरमा ल्याउने फोहोर सबै एकै ठाँउमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यमा समस्या भैसक्यो’, उनले भनिन्, ‘फोहोर पनि बाटोमा खसाल्दै लैजान्छ, डम्पिङ्ग साइट बन्छ भनेको कति भैसक्यो, सबै फोहोर एकै ठाँउमा फालेपछि यो समस्या कहिल्यै समाधान हुदैन ।’
१६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको १–१२ वडासम्मको फोहोर संकलन गरी वडा नं. १ धारापानीस्थित तारेभीरमा फाल्ने गरिएको छ । नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफुहरु दुर्गन्धमा बस्नु परिरहेको स्थानीय लीलाराम पुरीले गुनासो गरे । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृति दिइहाल्यौँ’, उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवुद्धामा विभिन्न रोगहरुसमेत देखापर्ने गरेको छ ।’
वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको बताए । फोहोर विर्सजन क्षेत्रमा जानेक्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्याण्डफिल्ड साइडमा फोहोर बिसर्जन गरिदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उनको भनाई छ । फोहोर संकलनको जिम्मा पाएका ठेकेदारको लापरवाहीले झन् समसया भएको उनले बताए ।
अध्यक्ष खत्रीले आफ्नो १ नम्बर वडालाई अरु वडा भन्दा उपेक्षामा पारिएको बताए । ‘मैले हरेक बैठकमा फोहोर व्यवस्थापन भएन भनेर कुरा उठान गरेपनि सुनुवाई हुदैन । अब सुनुवाई नहुँदा सम्म बैठकमा सहभागी नहुने भनेर बैठक बहिस्कार गरेर निस्किएको छु’, उनले भने, ‘अब फोहोर ल्याउनै नदिएर बन्द गर्नुको विकल्प छैन । कराउदा कराउदा एउटा मेसिन किन्ने सम्मको बजेट नगरसभामा पास भएको छ । कुहिने नकुहिने छुट्टाएर नल्याने गाडी वडामै छिर्न नदिने योजना बनाएको छु ।’ अध्यक्ष खत्रीले पार्क व्यवस्थापनमा खर्च गर्नु पहिला फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले ध्यान दिनै पर्ने जिकिर गरे ।
न दिगो योजना, न बजेट
वि.स.२०७३ सालदेखि नगरपालिकाले उत्पादित फोहोर तारेभीरमा विसर्जन गर्दै आएको छ । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ धारापानीको माथिल्लो क्षेत्र प्रभावित बनेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को निती तथा कार्यक्रममा समग्र नगरक्षेत्र भित्रको फोहारमैलाको उचित व्यवस्थापनका लागि ल्यान्डफिल साइडमा निर्माण स्विकृत विस्तृत आयोजना प्रतिवेदन अनुसार निमार्ण कार्यलाई निरन्तरता दिने बताएको छ । यस्तै त्यस क्षेत्रमा जाने सडकको स्तरोन्नती गर्न ८० लाख बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
वीरेन्द्रनगर फोहोर व्यवस्थापनका क्षेत्रमा अध्ययन गरिरहेका कृष्णप्रसाद ढकालका अनुसार दैनिक १२ टन फोहोर वीरेन्द्रनगरमा उत्पादन हुन्छ । दैनिक ३० टन सम्म खपत गर्न सक्ने प्रविधि आइसकेको समयमा पनि यति थोरै फोहोर व्यवस्थापन हुन नसक्नु दुखद भएको बताउछन् ।
‘तिन वटा उद्योग जस्तैः प्लाष्टिक प्रशोधन गर्ने, कागज प्रशोधन गर्ने र कुहिने फोहोरको इन्टरप्राइज शुरु हुन्छ, जहाँ रोजगारी पनि धेरैले पाउछन् । फोहोरमा नयाँ उद्यम शुरु हुन्छ’, उनी भन्छन्, ‘दिगोपनाको व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिएन जसले दुई पैसा बढि दियो उसैलाई फोहोर उठाउन दिदा समस्या भएको हो ।’
उनी भन्छन्, ‘नगरपालिकाले हामीले यसरी प्रशोधन केन्द्र बनायौ, फोहोर छुट्यायौ, गुडविल प्रोजेक्ट बनायौ हामीलाई यति बजेट पुगेन भन्ने हो भने प्रदेश सरकारले गर्छ तर नगरपालिकाले नै त्यो फोहोरको दिगो व्यवस्थापन नभई अल्मलाउन तिर लागेको छ ।’ यद्यपी पालिकाले फोहोरको दिर्घकालिन समाधान र यसको व्यवस्थापनको अन्य पक्षहरु कुहिने फोहोरबाट बिभिन्न जैविक तथा कम्पोष्ट मल बनाउने तथा नकुहिने फोहोरको पुनः प्रयोग जस्ता गतिविधीलाई जोड दिएको पाइदैन जुन अत्ति आवश्यक छ ।
बजारबाट निस्कने फोहोर, डम्पिङ साइडको क्षमता लगायतका विषयलाई मुख्य आधार बनाई एकीकृत फोहोर संकलन गर्नुपर्ने साथै प्रदेश राजधानीको बढ्दो जनसंख्या वृद्धिलाई मध्यनजर गर्दै यसको दिर्घकालिन समाधानमा लाग्नुपर्ने देखिन्छ वीरेन्द्रनगरमा मासिक ३२ ट्याक्टर फोहोर अर्थात बार्षिक ७ हजार टनको हाराहारीमा फोहोर उत्पादन हुन्छ । जसमध्ये कुहिने फोहोर ६३ प्रतिशत र नकुहिने फोहोर ३७ प्रतिशत उत्पादन हुने गरेको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उक्त फोहोरमध्ये वार्षिक चार हजार तीन सय २० मेट्रिकटन फोहोर व्यवस्थापन हुन सकिरहेको छैन ।
‘व्यवस्थापन हुन नसकेको फोहोर कोही गाईबस्तुले खान्छन्’, उनले भने, ‘केहीले आफ्नो घरमै फोहोरबाट मल बनाउने ग्यास बनाउने गरिरहेका छन् भने केही यत्तिकै अव्यवस्थित ढंगमा छन् ।’ वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोर मध्ये आठ प्रतिशत रबर, १२ प्रतिशत प्लाष्टिक, चार प्रतिशत सीसा, १२ प्रतिशत पेपर, चार प्रतिशत कपडा र चार प्रतिशत अन्य फोहोर उत्पादन हुँदै आएको छ । जसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत पसलहरुबाट निस्कने गरेको छ ।
मापदण्ड अनुसार स्टेन्डर मेनटेन गर्न बजेटमा समस्या भएको बताउदै योजना अनुसार काम गर्न पुुर्ण नभएर काम गर्न कठिनाई भएको अधिकृत पौडेलले बताए । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कुहिने फोहोरको वीरेन्द्रनगरमा समस्या नभएर नकुहिने फोहोर जुन कबाडमा जादैन त्यो फोहोरको लागि रिसाइकलको व्यवस्थाको उपाय खोजिरेहेका बताउछिन् । उनले कुहिने फोहोरको कौशि खेती, किचन गार्डेनको काम अगाडी बढाइएको तर नभएको खण्डमा वायु ग्यास उत्पादनका लागि दिने योजना भएको जानकारी दिइन् ।
‘बजेटको समस्या छैन, करोडौको राजस्व आउछ त्यसलाई लगाउन सकिन्छ । फोहोरबाट आम्दानी गर्ने नगर मध्य वीरेन्द्रनगर राष्ट्रियस्तरमै अगाडी आइसकेको छ’, उनी भन्छिन्, ‘गत वर्ष वातावरण विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनको पुरस्कारनै हाम्रो नगरपालिकाले पाएको हो । आधारभुत नगर सरसफाईका आधारभुत इन्डिकेट सबै पुरा भैसके तर अब अब्बल तरिकाले अगाडी बढाउन योजना बनिरहेको छ ।’ सेफ्टीटंकीको फोहोर व्यवस्थापनबाट नगरपालिकाले वार्षिक ८ लाख राजस्व आम्दानी गरिरहेको नगर प्रमुख ढकालले बताइन् । उनले डम्पीङ्ग साइटलाई व्यवस्थित बनाउन लागि परेका छौ अब एक दुई वर्षमै वीरेन्द्रनगरलाई फोहोर रहित शहर बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
कर्णाली सरकारको प्राथमिकतामा छैन फोहोर व्यवस्थापन
वीरन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापनमा प्रदेश सरकार बेखबर छ । प्रदेश सरकारका संरचना वीरेन्द्रनगरमा झकिझकाउ छन् । तर, यहाँको फोहोर व्यवस्थापनको पाटो प्रदेश सरकारको प्राथमिकतामै पर्न सकेको छैन ।
कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखा प्रमुख रेनुका न्यौपानेले वीरेन्द्रनगरको वातावरण संरक्षणमा चुनौती रहेको स्वीकार गरिन् ।
कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखा प्रमुख रेनुका न्यौपानले फोहोर व्यवस्थापनमै भनेर बजेट नभएको बताइन् । उनले वातावरण संरक्षण भनेर पहिले कार्यक्रम भएपनि अहिले फोहोर व्यवस्थापन भनेर प्लाष्टिकको ठाँउमा डोको वितरण गर्ने जस्ता योजना मात्रै भएको र स्थानिय तहहरु सँग समन्वय गर्ने काम मात्रै मन्त्रालयको भएको बताइन् ।
‘बर्षेनी बनजंगल फडानी, आगलागी, फोहोरजन्य बस्तुको व्यवस्थापनमा निक्कै गाह्रोे भइरहेको छ,’ न्यौपाने भन्छिन्, ‘वीरेन्द्रनगर नगरपालिकाका सबै वडामा रहेका नागरिकले वातावरण संरक्षणमा ध्यान दिएका छैनन्, हामीले परिवर्तित वातावरणमा अनुकुलन बनाउने खालका कार्यक्रम समेत सञ्चालन गरेका छौ ।’ उनले वृक्षारोपण कार्यक्रम, जलवायु उत्थानशिल कार्यक्रम लागु गरेको बताइन् । जलवायु परिवर्तन न्युनिकरणका लागि दक्ष जनशक्ति र बजेट अभावका कारणले कार्यान्वयनमा गाह्रो भएको उनको भनाई छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखाका निमित्त सचिव, बन तथा जैविक विविधता महाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले वातावरण मन्त्रालय भएकाले फोहोर व्यवस्थापन गर्ने भन्दा पनि समग्र वातावरणीय स्वच्छताको काम गर्नुपर्ने बताए । उनले नितिगत तथा कानुनी कुरा मात्रै मन्त्रालयले गर्नेमा जोड् दिए ।
‘वातावरण संरक्षण ऐन नियमावली जारी गरी फोहोरलाई व्यवस्थित रुपले कुहिने र नकुहिने फोहोर व्यवस्थापन, प्लाष्टिकजन्य फोहोरलाई रोक्ने, बैकल्पिक उपाय खोज्ने धेरै कुरा निती कानुनमा ल्याएका छौ’, उनी भन्छन्, ‘फोहोरलाई स्रोतमा छुट्टाएर मल अथवा अन्य उत्पादन बढाउन रिसाइकल गर्ने योजना हो ।’ मन्त्रालयले निजि क्षेत्रलाई सहयोग गरि कानुनी खाका मात्रै तयार गरि योजना दिने उनले बताए ।
सिर्जना बुढाथोकी । शनिबार, साउन २६, २०८१ मा प्रकाशित