सुर्खेत उद्योग वाणिज्य संघको १४ औं नयाँ कार्य समिति चयनका लागि आगामी चुनाव २०८२ बैशाख ६ गते हुने भएको छ ।
संघका अध्यक्ष लक्ष्मण कंडेलको अध्यक्षतामा सोमबार बसेको कार्य समितिको २६ औं नियमित बैठकले बैशाख ६ गते निर्वाचन गर्ने गरी प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । आगामी निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २०८१ फागुन २५ गतेभित्र सदस्यता नविकरण गरिसक्ने गरी मिति तोक्ने निर्णयपनि कार्य समितिले गरेको छ ।
विगतमा विविध कारणवश समयमै निर्वाचन नहुँदा थुप्रै अविश्वास र आशंकाहरु उब्जने गरेको बताउँदै अध्यक्ष लक्ष्मण कंडेलले यसपटक समयमै निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण हुने प्रतिवद्धता जनाउनुभयो । संघको निर्वाचन कार्यविधि २०७६ अनुसार निर्वाचन समितिलाई १ महिनाअघि नै मतदाता नामावली लगायतका सम्पूर्ण कागजपत्र बुझाईसक्नुपर्ने भएकाले फागुन २५ नविकरणका लागि अन्तिम म्याद तोकिएको महासचिव महासचिव भद्र भण्डारीले जानकारी दिनुभयो ।
फागुन २५ देखि चैत्र ५ गतेसम्म आन्तरिक प्रक्रिया गरी चैत्र ६ गते निर्वाचन समितिलाई सम्पूर्ण कागजपत्र बुझबुझारथ भैसक्ने छ । उहाँले भन्नुभयो, त्यस उता निर्वाचन समितिले आफ्नो काम र प्रक्रिया थाल्नेछ।
निर्वाचन समितिसंग समन्वय गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन अध्यक्ष कंडेलको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्यहरु टोपेन्द्रजंग शाही, अर्जुनजंग शाही र भुवन ज्ञवाली सदस्य रहेको समिति पनि गठन गरिएको छ ।
यसअघि १३ औं निर्वाचन समितिको निर्वाचन २०७९ बैशाख ४ गते भएको थियो ।
संवाददाता । बुधबार, माघ ०९, २०८१ मा प्रकाशित