Karnali Media
२०८३ असार २ , मंगलबार

अगुवा अभियान्तालाई क्षमता अभिवृद्धि तथा सामाग्री वितरणः फेडो



सुर्खेत । “जातीय विभेदको विरुद्ध बोल्दा म आफैं संकटमा परें,” सिता भण्डारीको सानो वाक्यले त्यो पीडाको कथा बोकेको थियो, जुन थुप्रै दलित महिला अभियान्ताहरूले प्रत्यक्ष भोगिरहेका छन् । भेरीगंगा–११ की सिता, दलित महिला संघकी अगुवा अभियान्ता हुन् ।

केही समयअघि गाउमा जातीय विभेदको घटना विरुद्ध आवाज उठाउँदा उनीमाथि अभद्र व्यवहारको मुद्दा लगाइयो । पक्राउ पुर्जी आयो तर, आवाज संस्था, फेडो, मानव अधिकार आयोग र अन्य अभियान्ताहरूको पहलले उनलाई जोगायो । २५ दिन उनि आवाज संस्थाको होम सेन्टरमा बिताइन् । त्यही संवेदना र संघर्षको अनुभूति बोकेर आज विरेन्द्रनगरमा दलित महिला संघले अगुवा अभियान्ताहरूको कामलाई सम्मान गर्दै सामाग्री वितरण तथा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बीरेन्द्रनगर–१३ की अर्की अगुवा अभियान्ता कौशिला वि.कले टोलमा लागुऔषधमा परेका युवाहरूलाई परामर्श दिई अभिभावकको जिम्मा लगाएको, बहुविवाह र जवरजस्ती करणीका केसहरूमा कानुनी सल्लाह दिएको अनुभव साझा गरिन् । “कानून मात्रै हैन, भरोसासँग काम गर्नुपर्छ,” उनको भनाइ थियो । भेरीगंगा–१० की अगुवा अभियान्ता विमा कुमारी नेपालीले यसरी अनुभव पोखिन् । “समुदायमा काम गर्न सजिलो छैन, विशेषतः महिला र दलितका सवालमा त झनै । राजनीतिक दवाव आउँछ, तर हामी झुक्दैनौं । दुई बालविवाह रोक्न सफल भयौं, एउटा बहुविवाहको मुद्दा मिलायौं।”


कार्यक्रमको प्रमुख अतिथि फेडोकी महासचिव रेनु सिजापतिले अगुवाहरूलाई सहज भाषामा बोल्न, संयमता राख्न र विषयमा जानकार भएर मात्रै अघि बढ्न सुझाव दिइन्। “अभियान्ताले समुदायको विश्वास जित्न नसकेसम्म परिवर्तन सम्भव हुँदैन,” उनले जोड दिइन्। उनले अभियान्ताले आफु कुन विषयमा बोल्दै छु, कहाँ कुन केश हेर्न जादैछु भन्ने कुराको जानकारी राखेरमात्रै काम गर्न सुझाब दिइन्

दलित महिला संघकी अध्यक्ष मञ्जु सुनारले सन् २०५१ सालदेखि संस्थाले दलित महिलाका सवालमा निरन्तर आवाज उठाउँदै आएको बताइन् । बालविवाह, घरेलु हिंसा, आर्थिक असमानता र छोरीहरूको शिक्षामा जोड दिँदै उनले भनिन्, “अभियान्ता बन्नु भनेको सजिलो बाटो रोज्नु होइन, अरूको लागि लड्दा पनि आफैं असुरक्षित नहोस् भनेर काम गर्नुपर्छ ।” सामग्री वितरणः सानो सहयोग, ठूलो भरोसा दलित महिला संघ फेडोले आफ्ना अगुवा अभियान्ताहरूलाई आइडी कार्ड, झोला, छाता, डायरी, पेन, किताब र पानीको बोतल वितरण गरिएको थियो ।

यो सानो सहयोग उनीहरूका लागि काम गर्ने क्रममा आत्मबलको स्रोत बन्ने विश्वास आयोजकहरूको छ । संघले अगुवा अभियान्तालाई वडास्तरमै दलित बालबालिकाको अवस्था बुझी नीति निर्मातासँग छलफल गर्न पनि प्रेरणा दिएको छ। न्याय र समानताको लडाइँमा उनीहरू अब अझ सशक्त भएर अगाडि बढ्नेछन् ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार