रुकुमपश्चिम बाफीकोट गाउँपालिका वडा–३, दह। करिब ३५ वर्षअघि यो सानो गाउँमा जन्मिइन् तुलसा मल्ल। गाउँका थोरै घरहरूमा एक साधारण किसान परिवारमा जन्मिए पनि उनको यात्रा असाधारण बन्यो । आज उनी कर्णाली प्रदेशसभा सदस्य हुन् । खसआर्य महिला समानुपातिक सूचीबाट हैन प्रणालीबाट निर्वाचित, र प्रदेशसभामा महिला र गरीब समुदायको आवाज बनिरहेकी छन् ।
बाल्यकालमै राजनीतिक नसा
“२०५७ साल, म कक्षा ५ मा थिएँ, स्यार्पुताल प्राविमा पढ्दै। त्यतिबेला अनेरास्ववियुमा कोषाध्यक्ष बनें। विद्यालयमा क्लब हुन्थे । सदन हुन्थ्यो । बगैचा सिंगारने, माटोको भित्ता लिप्ने, हाजिर जवाफ प्रतियोगिता सञ्चालन गर्ने काम गर्दै नेतृत्व के हो सिक्दै गए ।”
“बैठकमा प्रतिव्यक्ति ५ रुपैयाँ लेवी उठाउँथौं त्यो जिम्मेवारीले नै मेरो मनमा राजनीति र नेतृत्वको बीउ राख्यो,” तुलसा सम्झिन्छिन् । कक्षा ६ मा पढ्न बाफीकोट पुगेपछि उनले जिल्ला कमिटीमा पनि काम गर्न थालिन्। घरदेखि उनि पढ्ने बाफिकोटको विद्यालय करिब आधा, एक घण्टाको दुरीमा थियो । “त्यो बेलादेखि राजनीतिको नसा लागिसकेको थियो । वि.सं. २०५६ सालमा वुवा गाँउमा राजनीतिमा जोडिसक्नु भएको थियो । घरको एकमात्रै सन्तान म त्यसमा पनि छोरी तर कहिल्यै रोकटोक भएन । छोरी भएपनि छोराको स्थान थियो र बुवालाई आफुजस्तै छोरीले पनि नेतृत्व गरोस् भन्ने भएर पनि अनेरास्ववियु मेरो मूल ढोका भयो । बच्चैदेखि मैले बुझें—सामाजिक न्याय र समानताको लागि लड्नुपर्छ ।” उनको स्कूल जीवन भने सजिलो थिएन । “विद्यालयमा जातीय छुवाछूत र भेदभावको सामना मेरा साथीहरुलाई गर्नु पथ्र्यो। साथीहरू टाढै बसेर कुरा गर्थे, कहिलेकाहीँ अन्तिम पंक्तिमा बस्नै पथ्र्यो । तर मैले सधैं निधो गरेँ—कसैले रोक्न सक्छ तर मेरो संघर्ष रोक्न सक्दैन।”
पत्रकारिता र सामाजिक कार्यमा रुचि
२०६३ सालमा अखिल नेपाल महिला संघको जिल्ला सदस्य बनिन्। यसै समयमा जन्तीधारा साप्ताहिक पत्रिकामा उनका लेख छापिन्थ्े । “पत्रिकामा नाम देख्दा आफन्तलाई देखाउने गर्व हुन्थ्यो। सिस्ने एफएममा समाचार लेख्थें, कार्यक्रम रिपोर्टिङ गर्थें । मेरो आवाजले गाउँका मानिसहरूलाई सुन्न पाइन्थ्यो,” उनी भन्छिन् । साथै उनले पत्रकारिता गर्दै स्वास्थ्य विषयमा स्नातकोत्तर पनि गरे । त्यस समयमा तीन वर्षसम्म स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा सामाजिक परिचालकको रूपमा काम गरिन् । गाउँले र उनका पुराना सहकर्मी भन्छन्, “तुलसा सधैं सक्रिय र सचेत थिइन् । सानो गाउँका बालिकाहरूलाई पढाइमा जोड्ने उनको अभियानले धेरैको जीवन बदल्यो। उनको नेतृत्वमा महिला कार्यक्रमहरू प्रभावकारी भए ।” असमानताका सवालमा विद्यालयस्तरबाटै बोल्ने, आवाज उठाउने काम जानीनजानी पनि गरेको तुलसाको अनुभव छ ।
महिला भएर भोगिएका चुनौतीहरू
उनले महिला भएर राजनीति गर्न धेरै कठिनाइ भोगेकी छन्। “घरमा कुनै कुरामा रोकिएन तर सदनसम्म आउदा महिला भएकै कारण सक्दैनन् भन्ने मुख्य चुनौती थियो। तालिममा होस् वा कार्यक्रम ३० जना पुरुषको छेउमा आफु एक्लै महिला हुन्थे आफैलाई अड लाग्थ्यो तर सोच्थे म पनि गर्न सक्छु । पुरुषसँग तुलना गर्दा क्षमता कम देखाउँछन्। कतिपय नेताले समानुपातिक पदलाई मात्र महिलाका लागि बनाइएको जस्तो व्यवहार गर्छन्। तर मैले देखाएको इमान्दारिता र कार्यक्षमता नै मेरो सफलता बन्यो ।” गाउँका बुढा बुढी भन्छन्, “हामीले कहिल्यै सोचेका थियौं की दहकी केटी एक दिन प्रदेशसभामा पुग्नेछ। उसको मेहनत र निडरता सबैका लागि उदाहरण हा्े ।”
समानुपातिक सूची र अन्तिम नम्बरको चुनौती
२०७९ सालको कर्णाली प्रदेशसभामा तुलसा खसआर्य महिला समानुपातिक सूचीको अन्तिम नम्बरमा नाम परेको थियो । कतिपय नेताहरूले उनको नाम काट्न खोजेका थिए । जिल्लामा सहमतिमा आएको नाम कटाइयो पनि । उनले विरोध गरिन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा पुग्यो । तुलसाले नै एमाले अध्यक्ष ओलीलाई आफ्नो चाहाना, त्याग, क्षमताका विषयमा बताएकी थिइन । काटिसकेका नाम त्यसपछि बलियो बन्यो । अध्यक्ष ओलीबाटै फोन आयो—‘माननीय हुनुभयो बधाई छ ।’ त्यति बेला तुलसा खुसीले रोएकी थिइन । त्यतिबेला अध्यक्षले ओलीले बुवाको स्वास्थ्य पनि सोध्नुभएको थियो । त्यसपछि तुलसालाई “विना स्वार्थ राजनीतिमा लागि रह्यो भने शुद्ध कर्मको फल मिल्छ ।” उनको बुबा दत्तबहादुर मल्ल भन्छन्, “छोरी सधैं इमान्दार र कडा परिश्रमी छ। राजनीति उसको मनको काम होइन, समाजको लागि समर्पण हो ।”
समानुपातिक सांसदको जिम्मेवारी
समानुपातिक सांसदको काम केवल विधेयक पास गर्ने मात्र होइन, जनताको समस्या सुन्ने, विकास निर्माणमा सहजीकरण गर्ने र कानुन निर्माणमा योगदान गर्ने पनि हो । “समानुपातिक सांसदलाई विकास कार्यमा अवसर कम दिइन्छ भन्ने बुझाइ गलत हो। हामीले पनि विकास र सुधारमा सक्रिय हुन सक्छौं,” तुलसा भन्छिन् । उनले दुई वर्षको कार्यकालमा सातवटा विधेयक पास गराइसकेकी छन् । विशेषतः महिलासम्बन्धी, बालबालिका र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयकहरूमा सक्रिय भूमिका खेलिन् । बाफिकोट ५ लेखाबाङ्गका ३० जना विपन्न बस्तीका महिलालाई नागरिक सचेतना केन्द्रमा बैठक बसाल्दा बोल्न लजाउने भाग्नेहरु पछि वडामा गएर महिलाका सवालमा भएका बजेट माग्न सक्ने भए त्यो आफ्नो उपलब्धि भएको तुलसाको भनाई छ ।
खुसी छ बाफिकोट
“संसदमा बोल्दा धेरै पटक कार्यान्वयन हुँदैन। बोल्नाले मात्र हुँदैन, कानुन बनाउनु पर्छ । प्रक्रिया पूरा गरेर परिणाम ल्याउनुपर्छ। यही कारण मैले विधेयकमा जोड दिएको छु,” उनी भन्छिन् । सहकर्मी तुलसा कोइरालाले भन्छन्, “तुलसा सधैं तथ्य र प्रमाणमा आधारित काम गर्छिन्। संसदमा बोल्दा उनका शब्दमा शक्ति छ, जसले सबैको ध्यान खिच्छ। उसको नेतृत्वले अन्य महिला सांसदहरूलाई पनि उत्साहित बनाएको छ ।”
बाफीकोटका महिलाहरू भन्छन्, “तुलसाले हाम्रो आवाजलाई सदनमा पु¥याइन्। पहिले हाम्रो पीडा सुनिने अवस्था थिएन। आज हामीले अवसर र सम्मान पाएका छौ ं।” बालबालिका पनि उनलाई प्रेरणाको स्रोत मान्छन् “हामी पनि पढेर ठूलो भएर तुलसाजस्तै बनौँ भन्ने चाहना गर्छौं,” गाउँका किशोरी भन्छिन् ।
समानुपातिक पद मात्र होइन, प्रत्यक्ष चुनावको लक्ष्य
तुलसाको लक्ष्य अब प्रत्यक्ष निर्वाचन हो । “समानुपातिक पदले केही बाध्यता दिएको छ, तर म प्रत्यक्ष निर्वाचनमा महिला पनि सक्षम छन् भनेर देखाउन चाहन्छु । पुरुष–महिला बराबरी हुनुपर्छ। प्रदेशसभाभित्रै समानुपातिक र प्रत्यक्ष पदको विभेद हटाउन म संघर्षरत छु ।”
उनले राजनीति केवल व्यक्तिगत उन्नति होइन, समाज परिवर्तनको माध्यम भएको बताउँछिन्। “अवसर बराबरी, इमान्दारी, र सक्षम नेतृत्वले मात्र समाज परिवर्तन गर्न सक्छ,” उनी भन्छिन् ।
सार्वजनिक लेखा समितिको सदस्य भएपछि पेन्सनवाला बाबुको शेषपछि विवाहित छोरी हकवाला नहुने कुरालाई संशोधन हालेर परिवर्तन गरिन् । “कसैको एक मात्र सन्तान त्यसमा छोरी भए के गर्ने? भनेर सदनमा चर्को आवाज उठान गरे । सबै महिला माननियहरुले पनि एक स्वर गर्नुभयो । विवाहित हटाउन लगाएर छोरीमात्रै राख्न लगाएपछि संशोधन भएर बहस हुदा मलाई बल्ल जीत भएको आभास भयो ।”
राजनीतिक दृष्टि र प्रतिबद्धता
राजनीति सक्षम र योग्य व्यक्तिलाई हेर्ने माध्यम हुनु पर्छ । अफन्तवाद र विकृतिलाई हटाएर सकारात्मक अभ्यास अवलम्बन गर्नुपर्ने उनी भन्छिन् “मैले बुझें सफा मनले निरन्तरता दिएपछि अवसर आफैं आउँछ । बाँकी जीवन मैले एमालेमै समर्पित गर्ने निर्णय गरेकी छु । मेरो अनुभव र क्षमताले समाजका पिछडिएका वर्गलाई न्याय दिन सक्नेछ ।”
तुलसाको कथा केवल व्यक्तिगत सफलता होइन । यो बाल्यकालदेखि सामाजिक अवरोध र आर्थिक कठिनाइ पार गर्दै राष्ट्रिय राजनीतिमा पुग्ने साहसिक यात्रा हो । घरको चौतारोमा खेल्ने बालिका तुलसा मल्ल आज अहिले प्रदेशसभाको रोस्ट्रममा बोल्छिन् । प्रदेशसभामा उनको यात्रा दलित, महिला र पिछडिएका समुदायका लागि प्रेरणाको प्रतीक बनेको छ । उनले उठान गर्ने सवाल महिला र त्यसभित्र विपन्न, असामनताका विषयमा बढि हुन्छन् । राजनीतिमा महिला, गरीब र पिछडिएका समुदायका लागि आवाज उठाउने उनले देखाएको मार्ग स्पष्ट छ ।







सिर्जना बुढाथोकी । । आइतबार, भदौ १५, २०८२ मा प्रकाशित