Karnali Media
२०८३ असार १ , सोमबार

ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा



काठमाण्डौ । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना ९सौवाल० को पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।


खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यसैबीच सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार