बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध आफ्नै दलभित्र विश्वासकाे मत परीक्षण हुने भएको छ । आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिन लाग्नुभएको हो ।
कन्जरभेटिभ पार्टीमा नेतृत्व परिवर्तनका लागि कम्तीमा १५ प्रतिशत सांसदले प्रधानमन्त्रीप्रति विश्वास छैन भन्दै अध्यक्षलाई पत्र बुझाएर माग गर्नुपर्छ । कन्जरभेटिभ पार्टीमा तीन सय ५९ जना सांसद छन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई बुझाइएको छ । विश्वासको मतका लागि बेलायती समयअनुसार आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुने बीबीसीले जनाएको छ ।
कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसोनको आलोचना भइरहेको छ । लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उहाँले माफी मागिसक्नुभएको छ ।
अविश्वास प्रस्तावका लागि सांसदहरूले गोप्य मतदान गर्नेछन् । अविश्वास प्रस्ताव पास हुनका लागि बहुमत आवश्यक हुन्छ । बोरिसलाई नेतृत्वमा रहिरहनका लागि कन्जरभेटिभ पार्टीका तीन सय ५९ जना सांसदको बहुमत अर्थात् कम्तीमा एक सय ८० मत आवश्यक पर्छ । यदि त्यो सङ्ख्या पुर्याउन नसकेमा जोनसन प्रधानमन्त्रीबाट हट्नुपर्छ । यदि उहाँले जितेमा उहाँविरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइने छैन ।
एजेन्सी । सोमबार, जेठ २३, २०७९ मा प्रकाशित