एउटा उचाईंमा पुगेको कलाकारले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गर्न सक्छ रु यदी सक्छ भने उसले आफ्नो करिअर खुकुरीको धारमाथि राखेको छ । अहिले अभिनेता प्रदीप खड्का त्यहीँ खुकुरीको धारमाथि हिँडिरहेका छन्, जसले उनको करिअर सपार्न पनि सक्छ र ध्वस्त बनाउन पनि । फिल्म ‘प्रकाश’मा उनले बाँचेको चरित्र उनको ‘कम्फर्ट जोन’भन्दा बाहिरको हो ।
फिल्म ‘प्रेमगीत’पछि उनलाई दर्शकले लभस्टोरी भूमिकामा हेर्दै आए र रुचाए पनि । त्यसैको बलमा उनले आफ्नो स्टारडम तिखारे । उनलाई आँखामा सजाउने दर्शकहरुले सम्भवतः प्रदीपलाई लभर ब्वाईभन्दा अरु भूमिकामा हेर्न चाहँदैनन् । अनुहारको बनौटले पनि उनलाई रोमान्टिक चरित्र सुहाउँछ । तर, कलाकार बन्ने प्रयासमा उनले करिअरलाई अन्जुलीमा राखेर ‘प्रकाश’मा काम गरे ।
यो फिल्ममा पनि निर्देशक दिनेश राउतले लभस्टोरी बुनेका छन् तर, कुनै विदेशी सामुन्द्रिक किनार वा मुस्ताङको कुनै डाँडामा प्रदीपलाई दुई हात भिजाउन लगाएर हिरोइनसँग रोमान्टिक अवतारमा प्रस्तुत गरेका छैनन् । गाउँघरमा जसरी साधारण युवा (युवतीको प्रेम हुर्किन्छ, निर्देशक राउतले त्यसैलाई टिपेका छन् । फिल्मको ‘जोर मैना’ बोलेको गीतले पनि यो महशुस गराउँछ ।
फिल्ममा प्रदीप जुम्लाको एक विपन्न परिवारको युवकको भूमिकामा छन् । द्वन्द्वकालमा हराएका पिताको सपना साकार गर्न उनले गाउँको सरकारी विद्यालयमा शिक्षक बन्न गरेको संघर्षको कथामा फिल्म आधारित छ । निर्माण टिमले यसअघि सार्वजनिक गरेको टिजर, गीत र पोस्टरमा उनको लुक्स हेर्दा प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले गरेको मेहेनत सजिलै अनुमान गर्न सकिन्छ ।
शुक्रवार निर्माण टिमले फिल्मभित्रको दुई तस्विरहरु सार्वजनिक गरेको छ । तस्विरमा प्रदीप सुख्खा जमिनमा हलो जोतिरहेका छन् । खुट्टामा चप्पल छैन । सर्ट र टाउजर मैलोले कटकटिएको छ । अनुहारमा खुशीका रेखा छैनन् । चिन्ता, पीडा, अभाव उनको अनुहारमा छल्किएको छ । यो तस्विर हेर्दा उनलाई ‘प्रेमगीत’को ‘प्रेम’ भनेर विश्वास गर्न मात्र होइन, ठम्याउन समेत मुश्किल पर्छ ।
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । महेन्द्र अधिकारी निर्मित फिल्ममा विकास सुबेदीको लेखन र राजेश श्रेष्ठको छायांकन छ । ‘प्रसाद’ जस्तो अब्बल फिल्म दिएका दिनेश राउतले निर्देशन गरेका कारण ‘प्रकाश’प्रति अपेक्षा उच्च छ ।
संवाददाता । सोमबार, असार २७, २०७९ मा प्रकाशित