सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ अन्तर्गत पर्ने विजौरा गाउँ तरकारी खेतीका लागि आत्मनिर्भर बन्दै गइरहेको छ । कुनै बेला यो गाउँमा महिलाहरुलाई भान्सामा तरकारीको अभाव हुँदा विभिन्न स्थानीय बजारमा धाउनुपर्ने बाध्यता थियो । अहिले तरकारीमा मात्रै आत्मनिर्भर होइन् महिलाहरुको दैनिकी समेत बदलिएको छ । यहाँका अधिकाँश पुरुषहरु रोजगारीका लागि भारत जान्थे । तर अहिले धेरै जसो पुरुषहरु पनि तरकारी खेतीतर्फ उन्मुख बनेका छन् ।प्रदेश कृषि विकास निर्देशनालयले ‘एक स्थानीय तह एक वाली कार्यक्रम’ सञ्चालयनमा ल्याएसँगै त्यहाँका स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । स्थानीय चम्फा बिसी अचेल प्रायः तरकारी खेतीमै व्यस्तै हुन्छिन् । उनले एक सिजनमा ३०–४० हजारको तरकारी बेच्ने गरेको बताइन् । उनी मात्र होइनन् यहाँकै जउमती बुढा क्षेत्री पनि खेती कृषिमै आत्मनिर्भर छन्। कुनै समय किनेर तरकारी खाने यहाँका नागरिकहरु अहिले लाखौंको तरकारी बाहिर निर्यात गर्छन् ।
धेरै मेहेनत गरेर पनि आफ्नै उत्पादनबाट १२ महिनै जिबिकोपार्जन गर्न नपुग्ने बिजौरा गाँउका किसान अहिले आफुलाई पुगेर वीरेन्द्रनगर बजार र कैलाली निर्यात गरेर बचत गर्न पाउँदा खुसी देखिन्छन् । बिजौरा गाँउमा ३३ जना किसाहरु छन् पहिले यहाँका किसानहरुले परम्परागत खेती बालीहरु गर्दै आएका थिए जब कृषि विकास निर्देशनालय र स्थानिय सरकारले अनुदानमा खेतीका लागि प्लाष्टिक घर, बिउबिजन, औषधी लगायत प्राविधिक सहयोग गरेपछी यहाँका किसान कृषिबाट आत्मनिर्भर बन्दै गएका छन् । अहिले यहाँका किसानहरुले एक बालीमा ३८ हजार देखि ६३ हजारसम्म आम्दानी गर्दै आएका छन् ।जयलाल रोकायले टमाटर, बोडी र अदुवा खेती गर्दै आएका छन् उनी एक मेहनती किसान हुन् उनको घरमा अहिले ७ जनाको परिवार छ । कृषि बाहेक उनीहरुको अर्को व्यावसाय छैन यसैबाट उनीहरुको घरखर्च चल्दै आएको छ । पहिले १ बिघा क्षेत्रफलमा कृषि गर्दा पनि घरपरिवारलाई पुर्याउन धौ धौ हुन्थो तर अहिले १ रोपनीमा कृषि गर्दा आफुलाई पुगेर बेच्ने गरेको उनी बताउँछन् । आफ्नै बारीमा उत्पादन भएको ताजा तरकारी खान पाउदा मनै आनन्दित हुन्छ, घरमा पुगेर बचेको तरकारी डोकोमा बोकेर बजारसम्म नि आफैँ पुर्याउछु उनी भन्छन् ।पहिले यहाँका किसानहरु तरकारीमा रोग लाग्दा के गर्ने भन्नेबारे अनजान थिए जसले गर्दा रोगले बाली नै सखाप पार्दथ्यो तर अहिले भने कुनै रोगलाग्दा प्राबिधिक सल्लाह लिन्छन् बिजौरामा तरकारी पकेट संचालक समितीका संचालक रमेश घिमिरे बताउँछन् । औषधी प्रयोग लगायतका बिषयमा पनि सबै सल्लाह गर्छन् जसले गर्दा यहाँ व्याबसायसंगै मित्रता र सहयोगी भावना पनि बिकास भएको उनि सुनाउँछन् । यहाँका प्रमुख समस्याहरु गाउँमै संकलन केन्द्र नहुदा बोकेर टाढा लैजान समस्या हुने र बजार व्यबस्थापन नहुदा बजारीकरणमा समस्या रहेको छ । कृषिबाट राम्रो आम्दानी हुन थालेपछी यसमा युवाहरुको आकर्षण पनि बढ्दै गएको छ । बिधालय घर फर्किएपछी बिधार्थिहरु पनि अभिभावक सँगै तरकारी बालीमा जान थालेका छन् । छोराछोरीको यस्तो क्रियाकलापबाट छुट्टै खुसी मिल्ने बिजौराका स्थानीयहरु बताउछन् ।आर्थिक बर्ष २०७८–७९ मा कृषि बिकास निर्देशनालय सुर्खेतबाट तरकारी पवद्र्धन कार्यक्रम अन्तर्गत तरकारी ब्लक बिकास कार्यक्रम, एक स्थानीय तह एक पकेट बाली संचालन कार्यक्रम र अन्य मागमा आधारीत कार्यत्रलमहरु भएका थिए । करीब १ सय भन्दा बढी सिचाई आयोजनाहरु संचालन भएका थिए । यसरी कृषि बिकास निर्देशनालयको सहयोगमा अहिले १ हजार हेक्कड क्षेत्रफलमा तरकारी खेती भैरहेको कृषि बिकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायाले बताउँनुभयो । यस्तै उहाँका अनुसार, सुर्खेतमा तरकारी खेतीबाट करीब २०–२५ करोड बार्षिक आम्दानी सुर्खेत आउँछ । यस्तै यहाँको तरकारी सुर्खेत सँगै दैलेख र कर्णालीका अन्य जिल्लाहरु जाने गर्दछ ।
निर्देशक रोकायका अनुसार सुर्खेतमा करिब ६० प्रतिशत कृषियोग्य जमिन बाँझै छ । अहिले यहाँको उत्पादन बढाउन सिँचाईको विस्तार गर्ने, प्राङ्गारिक खेती तर्फ बिशेष पहल गर्ने, कृषकको क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउने उदेश्य रहेको बताए । बिजौराका किसानहरु उत्पादन वृद्धि भएर माग बढेको खण्डमा संकलन केन्द्र मिनि संकलन केन्द्र निर्माण गर्ने र किसानहरु जस्तो सुकै कृषि योजना लियर निर्देशनालय आएमा उनिहरुका माग सम्बोधन गर्न सधै लागि पर्ने बताएका छन् ।
गाँउलाई कृषिमा आत्मनिर्भर बनाउने पूर्व र हालका वडाअध्यक्षको संकल्प
बिजौरा गाँउले तरकारी खती सुरु गरेको २–३ बर्षमै पहिचान फेरेको छ । पहिले तरकारी किन्ने गाँउ अहिले तरकारी बेच्ने भएको चौकुने गाउँपालिका–४ का पूर्ब वडाअध्यक्ष नवराज जैसी बताउँछन् । आफ्नो कार्यकालमा गरेको यो महत्वपूर्ण कामलाई सम्झदै सरकारले पनि कृषकलाई प्रोत्साहन गर्न नसकेकोमा गुनासो पाखे । हालका वडाअध्यक्ष टोप लबहादुर बुढा क्षेत्रीले वडाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । किसानलाई भौतिक पूर्वाधारको व्यबस्था गरेर किसानलाई जागरुक बनाउने र वास्तविक किसानलाई अनुदान दिने र यहाँको तरकारी संकलन केन्द्रसम्म पुर्याउने र पालिकाले नै किन्ने प्रयास भैरहेको जानकारी दिए ।
जगत सापकोटा । सोमबार, साउन ०९, २०७९ मा प्रकाशित