२३ साउन, सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि निर्माण गरेको दशवर्षे रणनीति कार्यान्वयनको लागी वीरेन्द्रनगर नगरपालिकाले पहल गर्ने जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भौतिक पुर्वाधार विकास मात्रै विकास नभई सामाजिक न्यायमा समेत नीति निर्माण र बजेटको व्यवस्थापन गरी सामाजिक न्यायका प्रत्याभुती नागरिकलाई दिनुपर्ने धारणा राखिन् ।
मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख ढकालले यस्तो बताएकी हुन् । ‘हिँडेपछि पुगिन्छ’ उनले भनिन् “हामीहरुले यो दशवर्षे रणनीति कार्यान्वयनका लागि पहल गर्छौ ।” यसअघि नगरको उपप्रमुखको भुमीका निर्वाह गरीसकेकी ढकालले लैगिंक समानताका लागि नगरमा आँफुले पहिलेपनि छोरी बचत खाता, महिला स्वरोजगार कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिईन् ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरणका लागि ५ वर्षे नीति र त्यसलाई कार्यान्वयन गर्नका लागि रणनीति सहित योजना निर्माण गरेको बताईन् । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव कृष्णप्रसाद काप्रीले यस्ता विषयहरु पाठ्यक्रममा राखिनुपर्ने बताए । पाठ्यक्रममा राखियो भने बालबालिकाले पनि सिकेका कुरा आफ्ना परिवारलाई पनि जानकारी गराउने उनले जानकारी दिए ।
कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले नीति, रणनीति भन्दापनि गल्ती गर्नेहरुलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखे । अहिले सम्म गर्भमै गरिने भ्रुण हत्या गरेका अभिभावक वा डाक्टर के कतिलाई कारबाही भयो भन्दै प्रश्न गरे । उनले जबसम्म नियम, कानुनमा भएका सजायको लागू हुदैन तबसम्म यस्ता कार्य नरोकीने ठोकुवा गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव देवकुमारी गुरागाईँले सबै मिलेर विभेदपुर्ण लिङ्ग छनौट अन्त्यका लागि लाग्नुपर्ने बताईन् । उनले जबसम्म छोराकै लागी १० वटा सम्म छोरी पाउने, छोरा जन्माउनकै लागि भ्रुणपहिचान गरेर छोरीलाई गर्भपतन गर्ने र छोरा जन्माउने प्रचलन बढ्न थालेपछि दशवर्षे रणनीति नै निर्माण गरी यस्तो अपराध न्युनीकरणका लागि लागिएको उनले बताईन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि दश वर्षे राष्ट्रिय रणनीति तयार पारेको हो । गर्भपतन विरुद्धमा आवश्यक नीतिहरुको निर्माण गरी कार्यान्वयन गर्ने, लिङ्ग पहिचानकोे आधारमा गर्भपतन गर्ने महिला तथा पुरुषको सोच परिवर्तन, लिङ्ग पहिचानकै आधारमा गर्भपतन गर्ने स्वास्थ्यकर्मीलाई कारबाही, आर्थिक सशक्तिकरणका लागि अद्यम व्यवसायमा महिला तथा किशोरीहरुको अर्थपुर्ण सहभागितालाई प्रोत्साहन गर्ने र महिला तथा किशोरीहरुको सामाजिक सशक्तीकरण गर्दै नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्धेश्य रणनितीको रहेको छ।
कृपा लगाएतका संस्थाहरुको समन्वयमा गरिएको कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले दशवर्षे राष्ट्रिय रणनीति कार्यान्वयनमा लैजानुपर्ने माग सरोकारवालाहरुले गरेका हुन् ।
संवाददाता । सोमबार, साउन २३, २०७९ मा प्रकाशित