Karnali Media
२०८३ साउन ११ , सोमबार

अख्तियारमा वीरेन्द्रनगर सुर्खेतका उजुरी धेरै



सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सबैभन्दा धेरै वीरेन्द्रनगरका उजुरी पर्ने गरेको पाइएको छ। आयोगको ३२औँ वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ पालिकामध्ये वीरेन्द्रनगरसँग सम्बन्धित उजुरी धेरै परेका हुन्। सुर्खेतकै भेरीगंगा नगरपालिका पनि धेरै उजुरी पर्नेमा पर्दछ।

त्यसैगरी मुगुको सोरु गाउँपालिका र छायाँनाथरारा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र सर्केगार्ड गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र महावु गाउँपालिका तथा हुम्लाको अदानचुली गाउँपालिकासँग सम्बन्धित उजुरी अख्तियारमा धेरै पर्ने गरेका छन्।

आयोगका अनुसार सबैभन्दा धेरै उजुरी पर्ने जिल्लामा पनि सुर्खेत पहिलो नम्बरमा छ। सुर्खेतपछि दैलेख, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, सल्यान, रुकुम (पश्चिम), डोल्पालगायतका जिल्लाका उजुरी परेको आयोगका निमित्त प्रमुख भेषराज रिजालले जानकारी दिए। उनका अनुसार क्षेत्रगत रूपमा भने स्थानीय तह, शिक्षा, वन, ऊर्जा तथा सिँचाइलगायतसँग सम्बन्धी उजुरी धेरै परेका छन्।

आयोगको सुर्खेत कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ८० उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट ६ सय ४५ उजुरी जिम्मेवारी सरेर आएका थिए । यसरी आयोगमा एक हजार चार सय २५ उजुरी परेका हुन् । जसमध्ये आठ सय ९० उजुरी फछ्र्यौट भएका छन् भने पाँच सय ३५ उजुरी यो वर्षका लागि जिम्मेवारी सरेको जनाइएको छ ।


सुर्खेतका दुई सय ९१ उजुरी दर्ता हुँदा दैलेखका दुई सय ३९, मुगुका एक सय ४९, कालीकोटका एक सय ४४ र हुम्लाका एक सय ४२ उजुरी आयोगमा परेका छन् । यस्तै जाजरकोटका एक सय ३६, जुम्लाका ९५, सल्यानका ९४, रुकुम–पश्चिमका ७५ र डोल्पाका ५५ उजुरी सुर्खेतस्थित अख्तियारको कार्यालयमा परेका हुन् ।

कार्यालय प्रमुख रिजालले उजुरी संकलन र त्यसको फछ्र्यौटका साथसाथै जनचेतनामूलक कार्यक्रमसमेत आयोगले गर्दै आएको जनाए । जसअन्तर्गत ४१ वटा सामुदायिक शिक्षा कार्यक्रम, ४६ वटा अन्तरक्रिया र भ्रष्टाचारविरुद्धको नागरिक निगरानी समूह गठनलगायतका गतिविधि गरिएको उनले जानकारी दिए।

यसैबीच आयोगले आफ्नो ३२औँ वार्षिक प्रतिवेदन बुधवार कर्णाली प्रदेश प्रमुखलाई बुझाएको छ । प्रदेश प्रमुख तिलक परियारलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार