वीरेन्द्रनगर–९ की उर्मिला श्रेष्ठको दैनिकी अहिले तिहारका लागि विभिन्न प्रकारका रोटी पकाएरै बितिरहेको छ । तिहार भित्रिएसँगै उनी अहिले रोटी पकाउन र विक्री गर्नमा व्यस्त छिन् । विशेषगरी तिहारमा खाईने सिन्कामारी बनाउन उनलाई भ्याई नभ्याई छ । श्रेष्ठले बनाएको सिन्कामारी अहिले सुर्खेतको बजारका पसलभरी छन् ।
पाल्पामा जन्मिएर सुर्खेत विवाह गरेर आएकी श्रेष्ठले करिब बिस वर्ष पहिले सुर्खेतमा पहिलो पटक रोटी व्यवसाय सुरु गर्ने योजना बनाईन् । उनले २० वर्ष पहिले देखीनै विभिन्न किसिमका रोटी जसले विवाह, ब्रतबन्ध, तिहार जस्ता विशेष दिनमा भाग सजाउनका लागी महत्पुर्ण भुमिका रहेको हुन्छ । अहिले सुर्खेतमा उनले बनाएका रोटीले बजार पाएका छन् ।
अघिपछि कम मात्रामा बन्ने यी रोटी तिहारको सिजनमा धेरै मात्रामा बन्छ । गतवर्षको तिहारमा मात्रै उनले पाँच क्वीन्टल रोटी बिक्रि गरेको बताइन् । तिहारका लागी उनले भदौको महिना देखीनै रोटिको तयारी गर्छिन् । उनलाई रोटि उत्पादनमा श्रीमान बालकृष्ण श्रेष्ठले साथ दिईरहेका छन् । ‘खाली समय बसेरै खेर फाल्नु भन्दा व्यवसाय पनि भएको छ अनि समयको सदुपयोग पनि’, उनले भनिन्, ‘सुर्खेतमा रोटि बनाएर बेच्ने व्यवसाय मैले सुरु गरेको हो अहिले त धेरैले गर्नुहुन्छ ।’
उनले घरमै बसेर बनारसी, सिन्कामारी, जुम्लीझर अनि माग अनुसार सेल र फिनी पनि बनाएर बेच्ने गरेको छिन् । पहिले पहिले आफुले मात्रै बनाउने रोटीका परिकार अहिले धेरैले बनाउने गरेकोले पनि आफुले उत्पादन गत वर्षको तुलनामा घटनाएको उनले बताइन् । उनले बनाउने रोटीका परिकार मध्ये सबैभन्दा धेरै सिन्कामारी बिक्रि हुने गरेको छ । बनाउन पनि अलि समस्या हुने भएकाले सबैले घरमा बनाउन झन्झट मानेर किनेरै लग्ने गरेकाले पनि माग बढि भएको उनले सुनाइन् । खाली समयमा गतवर्ष नेवाः समाजको आयोजनामा १५ दिने रोटी बनाउने तालिम पनि दिएको उनले बताईन् ।
श्रेष्ठले यति मात्र होईन जुम्लीझर र गुलाबजल रोटी पनि बनाउँछिन् । आफूले सानैदेखि नै रोटी बनाउन सिकेको भन्दै उनले अहिले सोही सीपलाई व्यवसायमा बदलेको बताइन् ।
सिजनमा तीन लाख बढीको व्यापार
तिहारको टिका लगाई सकेपछि दिदिले भाईलाई दिने भागमा रोटि दिने परम्परा रही आएको छ । यसले संस्कृतीको जगेर्ना गर्ने उद्यमी श्रेष्ठको भनाई छ । दसैं तिहारको अवधिमा बन्ने सिन्कामारीको माग अत्यधिक भएको उनले सुनाइन् । सिन्कामारी रोटीलाई उनले गतवर्ष दुई सय पचासमा बिक्रि गरेपनि यसपटक सामानको मुल्य बृद्धि भएकाले प्रति प्याकेट तिन सय रुपैयाँमा बिक्री गरिरहेकी छिन् । एक प्याकेटमा ६ वटा रोटी हुने उनले बताइन् । तिहारको समयमा उनले तिन देखी साढे तिन लाख बराबरको रोटी विक्रि गर्ने गरेको बताइन् ।
अहिले सिन्कामारीको माग बढ्दै गएपछि उद्यमी श्रेष्ठलाई मागअनुसार पुर्ति गर्नै धौ धौ भएको छ । सिन्कामारी बनाउन उनको परिवारले साथ दिने गरेका छन् । ‘फुर्सदको समय यत्तिकै बिताउनुभन्दा यो काम गरेपछि आयआर्जन पनि भएको छ,’ उनले भनिन्, ‘सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको छ ।’
हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको खपत धेरै हुनेगर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने सिन्कामारी घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि सिन्कामारीको व्यापार गर्नेको कमाइ भने राम्रो छ । ग्राहक घरमै आउने भएकाले बजारको समस्या नभएको उनको भनाई छ ।
पछिल्लो समय भारतबाट भित्रिएका सिन्कामारी भन्दा स्थानीय रुपमा उत्पादन भएका सिन्कामारीले बजार पाउने गरेको श्रेष्ठको बुझाई छ । ‘भारतबाट आउने सिन्कामारीमा रसायन मिसाईएको हुन्छ,’ उनले भनिन्, ‘हामीले स्वास्थ्यलाई असर नपर्ने गरी खान मिल्ने रङ हालेर बनाएका छौँ ।’
सिर्जना बुढाथोकी । । सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित