काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे ।
अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो। खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।
अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।
नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
संवाददाता । आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित