सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टाईले एमाले उठाएको उमेद्वार राष्ट्रपति नभए आफ्नो पार्टी प्रतिपक्षमा जाने बताएका छन् । सुर्खेत आएका सचिव भट्टराईले राष्ट्रपतिको सन्दर्भमा सहमति कायम नभए सत्ता गठबन्धन भत्किने बताएका हुन् ।
प्रधानमन्त्री पुष्प कमल दाहालले नै पुस दश गते राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रस्ताव गरेको जिकिर गर्दै उक्त सहमति इमान्दारीपूर्वक पालना हुनुपर्नेमा भट्टाईले जोड दिए । उनले एमालेकै उमेद्वार राष्ट्रपतिमा निर्वाचित हुने विश्वास समेत व्यक्त गरे । ‘पुस दश गतको सहमति कायम छ भन्ने एमालेले बुझेको छ’ उनले भने, एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ नेकपा माओवादीले काँग्रेसका उमेद्वारलाई अघि सारे एमाले प्रतिपक्षमा जाने उनको भनाइ छ ।
उनले सत्ता गठबन्धनलाई निरन्तरता दिने हो वा काँग्रेसलाई साथ दिने हो स्पष्ट हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । अहिलेको सत्ता गठबन्धन भत्काउनका लागि विदेशी शक्तिहरु लागि परेको सचिव भट्टाईको भनाइ छ । नेपालका बामपन्थी दलहरुलाई एक ठाउँमा नउभिउन भन्ने र काँग्रेस सत्ता बाहिर नबसोस भन्ने चाहाना छिमेकी राष्ट्रहरुले राख्ने गरेको उनले जिकिर गरे । ‘हाम्रा केही विदेशीहरुलाई के छ भने काँग्रेसलाई विपक्षमा राख्दा मुटु दुख्छ त्यति धेरै स्नेह किन हो था छैन तर काँग्रेस प्रति अतिरिक्त मोह छ केही विदेशी शक्तिहरुको’ उनले भने ।
संवाददाता । सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित