काठमाडौं, साउन १० । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम् भए को पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको पूर्वीयग्रन्थहरुमा उल्लेख छ । ब्रह्मासँगको संवादपछि विषधर नागहरु शान्त भएको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
यसरी नागको पूजा गर्नाले रोगव्याधि नलाग्ने,अग्निभय चटयाङ तथा वज्रपातबाट जोगिने शास्त्रीय मान्यता छ । जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । काठमाडौको केन्द्रमा रहेको नक्साल नागपोखरी,चोभारमा रहेको टौदह तथा ललितपुरको धापाखेलस्थित नागदहमा आज नागपूजा गर्नेको भीड नै लागेको छ । भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । नागलाई जलका प्रतीकका रुपमा पनि सम्मान गरिन्छ ।
जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ । नाग मार्नु हुँदैन,नाग जलका देवता हुन भन्ने मान्यताअनुसार उनीहरुको वासस्थान संरक्षण गर्ने चलन छ । नागपञ्चमीदेखि लोकमा जाडो शुरु हुने एकपछि अर्को गरी पर्वहरुको आगमन हुने जनकथन छ ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित