आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज (बिहीबार) ओमानसँग खेल्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ सेख राम्रो लयमा छन् ।
कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्त्वपूर्ण हुनेछ । दीपेन्द्रसिंह ऐरी नहुँदा यी दुई ब्याटरमा अतिरिक्त जिम्मेवारी थपिएको छ । नेपालका लागि कप्तान रोहित पौडेल लयमा फर्कनु आवश्यक हुनेछ ।
सोमपाल कामी, करण केसी र गुलसन झाबाट नेपालले राम्रो अलराउन्ड प्रदर्शनको अपेक्षा गरेको छ । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् । अविनाश बोहोराले नेपालको डेथ ओभर सम्हाल्नेछन् ।
आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन् । यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
संवाददाता । बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित