जुम्ला । आफ्नो स्वेच्छाले गद्दी त्यागेर नागरिक बनेको बताउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजनीतिक माग अगाडि सारेका छन् । उनले सरकारसँग वार्ता, सम्वाद र सर्वपक्षीय सम्मलेनको माग गरेका छन् ।
शनिबार जुम्लाको खलंगामा विशाल जनसमूहको उपस्थितिमा पूर्वराजा ज्ञानेन्द्रले सम्वोधन गर्ने क्रममा सर्वपक्षीय सम्मलेनको माग गरेका हुन् ।
सम्वोधनमा उनले भने,‘सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ सम्वाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको छ ।’
पूर्वराजा शाहले भनेका छन्,‘ अब सुध्रौं, अब चेतौं ।’
राजतन्त्र पक्षधर राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जितेको जुम्ला जिल्लामा ज्ञानेन्द्र पुग्दा ठूलो भीडले उनको स्वागत गरेको थियो ।
हिमाली जिल्लामा भएको यो उपस्थितिबाट उत्साहित हुँदै राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘समयको माग ‘नवीन समझदारी ।’ आज जुम्लामा गणतन्त्रको जग हल्लिएको दिन ।’
संवाददाता । आइतबार, चैत २५, २०८० मा प्रकाशित