काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरु पीडित भएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने बताए ।
उनले यसअघि पनि संसदबाट संसदीय छानविन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानविन बनाउनुपर्ने बताए ।
‘सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् । सहकारीमा लाखौँ मानिसहरु पीडित छन्’उनले भने, ‘छानविन समिति बनाऔँ । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔँ ।’
उनले मंगलवार ९हिजो० राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको बताए ।
उनले गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए । उनले गृहमन्त्री लामिछानेको यसप्रकारको कदमको भत्र्सना गरे ।
‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माईतीघर मण्डला निषेधित गराउनुभएको छ । उहाँहरुले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरुले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन’ उनले भने, ‘पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रुपमा हामीले हेरेका छौँ ।’
प्रमुख सचेतक शाहीले ०४७ सालपछिका सार्वजनिक व्यक्तिहरुको सम्पती छानविन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।
संवाददाता । बुधबार, चैत २८, २०८० मा प्रकाशित