सुर्खेत । गत शुक्रबार महिलाहरुको विशेष पर्व तीजको दिन थियो । वीरेन्द्रनगर र आसपासमा पनि महिलाहरु तीज विशेष रमाईलो गरिरहेका थिए। कोही नाँचगानमा रमाउँदै थिए । कोही परिवार साथीभाईसँग घुमघाम गरेर रमाउँदै थिए । वीरेन्द्रनगरकी अनिता शाहीलाई भने तीजले छोएकै जस्तो थिएन । पसलमा ग्राहकको घुइँचो थियो । एकपछि अर्को गर्दै आउने ग्राहकरुलाई दही–चिउरा, चिया, चाउचाउको सुप बनाएर दिँदै अनिताको दिन वित्यो ।
त्यो दिन उनको पसलबाट चिया मात्र १३५ कप विक्री भयो । दिउँसो १२ बजेदेखि लाग्न थालेको ग्राहकको भिँड बेलुका ५ बजेपछि मात्र कम भयो । फेरि बेलुका पुगेर रातिसम्म बसेर फर्किने ग्राहकको प्रतिक्षामा थिईन् अनिता । बेलुका भएपछि जाने उनका ग्राहकमध्ये धेरैजसो खाना खाने हुन्छन् ।
‘आज तीज पनि भयो, पानी परेर पनि दिउँसो आउने आजका ग्राहक अझैं कम हुन् । सफा मौसम हुँदा थामिनसक्नु हुन्छ ।’ उनले भनिन्, ‘दिउँसोका ग्राहक फर्किएपछि बेलुका खाना खाने, मदिरा खाएर थकाई मेटाउने ग्राहक पनि आउँछन् । अबेरसम्मै व्यस्त हुनुपर्छ ।’
अनिताले कटुवास्थित सुर्खेत–दैलेख सडक खण्ड छेउमा पसल गरेकी छन् । कटकुवा दही–चिउरा खाने ठाउँका रुपमा चिनिन्छ । वीरेन्द्रनगर उपत्यकाबाट कटकुवासम्मको सडक दूरी १० किलोमिटर छ । कटकुवामा अस्थायी संरचना भएका दुईटा पसल छन् । यो सडकमार्ग भएर यात्रा गर्ने यात्रु र आन्तरिक पर्यटकहरु यी पसलका ग्राहक हुन्छन् ।
दुईमध्ये एउटा पसल भने अनिताको हो । उनको पसलको नाम ‘शाही दही–चिउरा पसल’ हो ।
वीरेन्द्रनगर–१४ गोठीकाँडाकी अनिताले यो पसल चलाउन थालेको दुई बर्ष मात्र भयो । त्यसअघि उनका बाबाआमाले चलाएका थिए । उनका अनुसार १८ बर्षअघि बाबाआमाले दुई हजार पाँच सय रुपैयाँमा पसल किनेर चलाउन थालेका हुन् ।
१६ बर्ष आफूले चलाएपछि बाबाआमाले अनितालाई ‘तिमी यसैबाट आत्मनिर्भर बन’ भनेर सुम्पिएका हुन् । त्यसयता चाडपर्वका बेला समेत पसलमा उनले काम गर्न छोडेकी छैनन् ।
त्यतिबेलादेखि बाबाआमाले १६ बर्षसम्म यही पसल चलाएर आफूसहित पाँच भाईबहिनीलाई पढाएको उनले बताईन् । अनिताका चार दाजुभाई छन् । उनीहरु हुर्किएर आ–आफ्नो पेशामा लागिसकेपछि बाबाआमाले छोडेर त्यो पसल आफूलाई दिएको अनिताले बताईन् ।
‘मैंले पहिले पनि गाउँमा सानोतिनो पसल गर्थें, पहिलेको अनुभवले पनि मलाई यसैमा टिक्न सहज भएको हो,’ अनिता भन्छिन्, ‘अहिले आम्दानी पनि राम्रो छ, चिनजान पनि बढेको छ ।’
उनका अनुसार सामुदायिक वनको जग्गा भएकाले कटकुवामा पसलका लागि भनेर पक्की संरचना बनाउन मिल्दैन । विद्युत जडान पनि गरिएको छैन । अहिले टिन हालेर कच्ची संरचनामै पसल चलेका छन् । पानीको धारा पनि जडान गरिएको छैन । पानी लिन टाढा जानुपर्छ ।
यही पसल अनिताका बाबाआमाले चलाउँदा ग्राहकलाई दही–चिउरा, चना, दुध र खिर खुवाउने गरेका थिए । उनले सुरु गरेदेखि त्यसमै केही खानेकुरा थपिएका छन् । गाउँमै बनाएको लोकल दही पसलमा हुने भएकाले बढीजसो दही–चिउरा नै विक्री हुने गरेको उनले बताईन् ।
केही बर्षअघिको तुलनामा व्यवसाय अहिले अझ राम्रो भएको छ । ‘पहिलेको तुलनामा सडक पक्की भएपछि अहिले व्यवसाय राम्रो भएको छ, आउनेजाने लामो दूरीका सवारीसाधनबाहेक यहीँसम्मका लागि भनेर पनि ग्राहक आउनुहुन्छ,’ उनले भनिन्, ‘दैनिक कम्तिमा ५–७ हजार रुपैयाँसम्मको कारोबार हुन्छ, कुनैकुनै दिन त २२ रुपैयाँसम्म कारोबार भएको हुन्छ ।’
यो व्यापारबाट महिनामा कति कमाई हुन्छ भनेर उनले यकिन हिसाब त राख्ने गरेकी छैनन्। तर ४०–४५ हजार नाफा नै हुने गरेको उनी बताउँछिन् ।
उनका अनुसार बाबाआमाले यही व्यवसायबाट गाउँमा घर बनाएका छन् । यसैबाट अनिताका पाँच भाईबहिनीलाई पढाएका पनि थिए ।
अहिले आफूले गर्ने आम्दानीबाट परिवारको खर्च राम्रोसँग चलेको उनले बताईन् । थोरै भएपनि बचत गर्ने गरेकी छन् । यसपछिको कमाइलाई कुनै सम्पत्तिमा लगानी गर्ने सोच अनिताको छ ।
उनी भन्छिन्– कमाई भन्दा पनि बाटोमा बसेर व्यवसाय गर्दा शुल्कै लिएर भएपनि ग्राहकको सेवा गर्न पाईएको छ । धेरैसँग चिनजान छ । आएर दिदी, बहिनी भनेर बोलाउनुहुन्छ । हालखबर सोध्नुहुन्छ । यसैमा खुसी छु ।
भिडियो हेर्न:
जगत सापकोटा । आइतबार, भदौ २३, २०८१ मा प्रकाशित