सुर्खेत । लोक गीत संगीतको महत्व, सँस्कृति संरक्षण, प्रवद्र्धन र बजारीकरणका विषयमा युवाहरुलाई जानकार बनाउन कार्यशाला गरिएको छ ।
कोरियामा बसेर काम गरिरहेका नेपाली युवाहरुको समुह वाईजी इन्टरटेन्टमेन्ट र अक्सफामको सहयोगमा युवालयले लामो समयदेखि युवाहरुको क्षेत्रमा काम गर्दै आइरहेका छ ।
युवालयद्धारा सञ्चालीत युवासँग हाम्रो सहयात्रा परियोजनामा जोडिएका दैलेखको भगवतीमाई र डुङ्गेश्वर, कैलालीको लम्की र सुर्खेतको वीरेन्द्रनगरका सहजकर्ता तथा श्रोत व्यक्तिहरुलाई पुर्खौदेखि चलिआएको सँस्कृतिको जगेर्ना गर्दै प्रवद्धन, बजारीकरण र व्यवसायिकरणमा कसरी जोड्न सकिन्छ भनेर जानकारी दिइएको हो ।
कार्यशालाका प्रशिक्षक गणेश कार्कीले लोकगीतसंगीत र रैथाने बाजाहरुको मात्र प्रयोग गरेर भएपनि कसरी कुटुम्ब जस्तो चर्चित पारम्परिक सांगीतिक समूह र नेपथ्यजस्तो प्रख्यात हुनसकिन्छ भन्ने विषयमा सहजकर्ता तथा श्रोत व्यक्तिहरुलाई जानकारी दिदै हौसला प्रदान गरेका छन् । उनले पछिल्लो समय विभिन्न जातजातिका व्यक्तिले सञ्चालन गरेका होमस्टेले आफ्ना सस्कृति जगर्नेा गर्ने कामसँगै आर्यआर्जन पनि राम्रो गरिरहेको बताउदै डिजिटल प्लेटफर्महरूमा संगीत बजारीकरणको विषयमा ध्यान दिन सुझाब दिए ।
कार्कीले नेपाली लोक संगीतको परिचय र महत्व , संगीतमा उद्यमशीलताका अवसरहरू, लोक गीत संगीत, उद्यमशीलता र बजारीकरणका मुद्धालाई जोड दिदै कलाकार ब्रान्डिङ र प्रवर्द्धनका रणनीतिहरूका बारेमा पनि जानकारी दिए ।
यस्तै, सहजकर्ता तथा श्रोत व्यक्तिहरुलाई उनले प्रतिवेदन लेखन, बैठक व्यवस्थापन र निर्णय प्रक्रियाको विषयमा पनि बताएका थिए । युवालयले करिब १ दशकदेखि युवाहरुलाई हरेक ठाँउमा अर्थपूर्ण सहभागिता र नेतृत्वदायि भुमिकामा पुराउन मुख्य भूमिका खेल्दै आएको युवालयद्धारा सञ्चालित युवासँग हाम्रो सहयात्रा परियोजनाका कार्यक्रम संयोजक पुजा कार्कीले जानकारी दिइन् ।
सिर्जना बुढाथोकी । मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित