Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

‘नीति तथा कार्यक्रमले संघीयताको संवर्द्धन गर्न सकेन’–सांसद महेन्द्रबहादुर शाही



नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमले संघीयताको संवर्द्धन गर्न नसकेको तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका ध्यान दिन नसकेको बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले युवालाई उत्साहित गर्ने विषय नभएको, विकट कर्णालीलाई हेर्ने दृष्टिकोणसमेत प्रष्ट नभएको बताए ।

मुलुकको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी आर्थिक विकास गर्ने सन्दर्भमा नीति तथा कार्यक्रमले कुनै पनि मार्गदर्शन नगरेको उल्लेख गरे। उनले कर्णालीको कृषि, जडीबुटीको विकासमा ध्यान नदिएको आरोप लगाए ।

संविधानले समाजवादको विषय लिपीवद्ध गरेको भएपनि सरकारले निजीकरणलाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममार्फत प्रष्ट भएको आरोप लगाउँदै उनले आर्थिक विषयमा थप प्रष्टता जरुरी रहेको बताए ।


बन्द रहेका विमानस्थल सञ्चालन गर्नुपर्ने र ठूला भौतिक पूर्वाधारको निर्माणमार्फत आर्थिक विकासमा ध्यान दिनुपर्ने सांसद शाहीको कथन छ । उनले ठूलो लगानी भएका चिकित्सकलाई मुलुकभित्रै टिकाउने कार्यक्रम नभएकामा गुनासो गरे ।

नेपाली विशेषतामा आधारित कृषि क्षेत्रको विकासमा ध्यान दिनुपर्ने, देशका ४० वटा भन्सार कार्यालयलाई पूर्णरूपमा स्वचालित बनाउनुपर्ने, छोटी भन्सारलाई थप व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले चालु खर्च घटाउनका लागि विगतका अध्ययनका आधारमा तत्काल प्रभावकारी कदम चाल्न, अनावश्यक ठानिएका कार्यालय बन्द गर्न र कर्मचारीको सङ्ख्या घटाउन सुझाव दिए ।

आवश्यक स्थानमा बजेट नपुग्ने, अनावश्यक स्थानमा बढी हुने अवस्थाको अन्त्य गर्नुपर्ने, राष्ट्रिय आवश्यकताका आधारमा सक्षम र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने उनको भनाइ थियो । उनले स्थानीय र प्रदेश सरकारलाई थप बलियो बनाउन सबैको साझा र सार्थक पहल जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार