काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभूवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले त्रिभूवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताएका हुन् । उनले प्राध्यापकहरुको सुरक्षाको लागि पिएसओ खटाएको जानकारी दिए ।
गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे ।
त्रिभूवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् । ‘त्रिभूवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ की त्यो द्वन्द्वमा पनि गृहमन्त्रालयले प्रवेश गर्नुपरेको छ । सरहरुको सुरक्षाको लागि मैले पिएसओ पठाउनुपरेको छ । यस्तो द्वन्द्व भएको छ, अहिलेसम्म त त्यो शान्तिपूर्ण नै छ । त्यो द्वन्द्व चाहीँ मैले पिएसओ फिर्ता गर्ने स्थिति बनोस् भन्ने मेरो आग्रह छ । जसले द्वन्द्व गर्नुभएको उहाँहरुलाई मेरो हार्दिक अपिल छ, त्यो पिएसओ अन्त काममा लगाउने गरेर मैले फिर्ता नगर्ने अवसर पाउँ’ उनले भने ।
उनले सरकार द्वन्द्व न्युनिकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले आत्महत्या नियन्त्रण गर्नको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको उल्लेख गर्दै द्वन्द्वका क्षेत्रमा पनि मिलेर काम गर्न उनले आग्रह गरे ।







संवाददाता । आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित