सुर्खेत । सुर्खेतमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन समयमा हुने बाढी र डुबान जस्ता विपद्हरुमा कसरी सुरक्षित रहने साथै विपद् मा परेका नागरिकहरुको उद्दार कसरी गर्ने ? यसका लागि आज भेरीगंगा ११ र लेकबेसी नगरपालिका १ को सिमानामा पर्ने चिप्लेमा कृत्रिम घटना अभ्यास गरिएको छ । बाढी र डुबान हुदा स्थानियहरुले कसरी उद्दार र सुरक्षित रहन सक्छन भनेर विभिन्न विधिहरुबाट अभ्यास गरिएको हो ।
उक्त घटना अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण रक्तकालीका साथै यस जिल्लामा क्रियाशिल विभिन्न क्षेत्रगत उपसमितिका अगुवा कार्यालय /संघ / संस्थाहरुले बाढिबाट प्रभावित भई विपद् मा परेका नागरिकहरुलाई के-कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरुबाट खोज उद्धारको विपद्कला प्रदर्शन गरी नेपाल रेडक्रस सोसाइटी लगायत अन्य संघ संस्थाहरुबाट प्राथमिक उपचारका साथै स्वास्थ्य सम्बन्धी उपचार कार्यको अभ्यास गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालका साथै लेकबेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुकले प्रस्तुतीकरणका लागि धन्यवाद ज्ञापन गरेका थिए।
जिल्ला प्रशासन कार्यालय जिल्ला विपद् व्यवस्थापन समिती, सुर्खेतको आयोजना र सुर्खेतमा विपद् व्यवस्थापनमा काम गरेका विभिन्न संघ संस्थाको समन्वयमा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
विपद्को समयमा एकजुट भई कार्य गर्न आग्रह : प्रजिअ रिजाल
कार्यक्रममा उपस्थित सबै कार्यालय/संघ/संस्थाका प्रतिनिधिहरुलाई विपद्को समयमा एकजुट भई कार्य गर्न आग्रह गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यस्ता घटना अभ्यास कार्यक्रमबाट विपद्को समयमा खोज उद्धार लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्न आफ्नो तयारी र क्षमता मापन गर्न सकिने हुँदा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
कृत्रिम घटना अभ्यासले विपद्को बेला उद्दारमा खटिन सहयोग पुग्छ : एसपी डाँगी
कृत्रिम घटना अभ्यास कार्यक्रममा बोल्दै विपदको समयमा हुन सक्ने सम्भावित घटनामा छिटो र छरितो रुपमा उद्दारमा खटिन सहयोग पुग्ने रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगीले प्रतिवद्द्ता जनाउदै डाँगी भन्छन् ‘हामीसँग जनशक्ति तयारी अवस्थामामै रहन्छ, तर उनीहरुलाई विपदको बेला कसरी खटाउने र उद्दारमा खटिदा अपनाउनु पर्ने विषयमा अभ्यस्त हुन सिकाउँछ’।
प्रमुख सेनानी रुपक थापा भन्छन्:-घटना अभ्यासले विपद्को बेला नागरिकलाई उद्धार गर्न सहयोग पुर्याउने र यसले नागरिकमा सचेतना बृद्धि गर्ने बताउँछन्।
विपद्को समयमा सबै संघ संस्थाहरु आपसी समन्वय गरी सक्रिय रहने : आचार्य
नेपाल रेडक्रस सोसाइटीका सभापति रामलाल आचार्यले विपद्को समयमा सबै संघ संस्थाहरु आपसी समन्वय गरी सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुका साथै वीरेन्द्रनगर नगरपालिका र लेकबेशी नगरपालिकाका उपप्रमुख ज्यूहरुबाट स्थानीय तहमा विपद् व्यवस्थापनको स्थिति र जिम्मेवार रहनुपर्ने बाताए ।
संवाददाता । आइतबार, जेठ २९, २०७९ मा प्रकाशित