अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्मको नाम ‘उपहार’ राखिएको छ ।
मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो । ‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।
आगामी भदौदेखि छायांकनमा जाने फिल्मलाई रेखा स्वयंले निर्माण गर्नेछिन् । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ । फिल्ममा रेखा र पूजासँगै अर्की एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । गत वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘उपहार’को निर्देशन गर्नेछन् ।
निर्देशक देउजाले फिल्म सामाजिक विषयवस्तुमा बन्न लागेको जानकारी दिए । फिल्ममा तीनजना अभिनेत्री एक्सन अवतारमा पनि प्रस्तुत हुनेछन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको कथा सुलक्क्षण भारतीको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको सोमबार पहिलो गीत रेकर्ड गरिएको छ । उक्त गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।
रेखाले यसअघि ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतको फिल्ममा काम गरेकी थिइन् । उनीहरुबीच एक दशकपछि पुनः सहकार्य भएको हो । ‘उपहार’पछि देउजा ‘झिँगेदाउ २’ निर्माणको तयारीमा छ । देउजाको पाइपलाइनमा छविराज ओझासँगको फिल्म ‘जेलब्रेकर’ पनि छ । ‘झिँगेदाउ’को व्यावसायिक सफलतापछि उनीप्रति दर्शकको अपेक्षा बढेको छ ।
संवाददाता । बुधबार, असार २०, २०८० मा प्रकाशित