सल्यानका किसानले टमाटरको मूल्य अहिलेसम्मकै उच्च पाएका छन्। किसानले मंगलबार प्रतिकिलो १४० रुपैयाँसम्ममा टमाटर बिक्री गरेका छन्। यसअघि प्रतिकिलो ९० रुपैयाँसम्म बिक्री गरेका किसानले मंगलबार भने १४० रुपैयाँसम्म बिक्री गरेका छन्। किसानले टमाटर बिक्री गरेर पाएको मूल्य यो अहिलेसम्मकै उच्च हो।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार कपुरकोट हाटबजारबाट मंगलबार मात्रै ६८ हजार २ सय ८९ किलो कृषिजन्य वस्तु बिक्रीबाट ६० लाख ४८ हजार ९ सय ४८ रूपैयाँ बराबरको ताजा तरकारी र फलफुल निकासी भएको छ। यसमध्ये ४३ लाख बढी रकम टमाटर बिक्रीबाट मात्रै आम्दानी भएको छ।
३१ हजार ३ सय किलो टमाटर बिक्रीबाट ४३ लाख ३ हजार ७५० रूपैयाँ, ४ हजार ५ सय ६५ किलो काउली बिक्रीबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८ सय ९५ किलो भेडे खुर्सानी बिक्रीबाट ३ लाख १ हजार ८ सय ६५ रूपैयाँ र ११ हजार ७ सय किलो बन्दागोभी बिक्रीबाट २ लाख ४ हजार ७ सय ५० रूपैयाँ जिल्ला भित्रिएको कृषि उपज सेवा केन्द्र कपुरकोटका सचिव सन्तोष सिहं घर्तीले जानकारी दिए।
यस्तै, किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैयाँ प्रतिकिलो बिक्री उनको भनाइ छ।
यस्तै, सिमी ४५ देखि ५० रूपैयाँ प्रतिकिलो बिक्री गरेका किसानले लोकल काक्रा ५० देखि ५५ र उन्नत काँक्रा १० देखि १२ रूपैयाँ प्रतिकिलो बिक्री गरेका हुन्।
कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ। कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगायतका सहर बजारमा जाने गरेको छ। तर यसपटक भारतसम्म निर्यात भएको छ।
कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका छ वटै वडामा रहेका तरकारी संकलन केन्द्रमा पनि किसानहरूले आफ्नो उत्पादन बिक्री गर्ने गर्दछन्।
संवाददाता । बुधबार, साउन १७, २०८० मा प्रकाशित