Karnali Media
२०८३ साउन ५ , मंगलबार

प्रकाश दूतराजको ‘करिम’ गीत हटाउन चौरजहारीका मेयर पुष्प बादीको माग



काठमाडौं । बादी समूदायको कथा, व्यथालाई गीतमार्फत भन्ने प्रयास गरेका गायक प्रकाश दूतराजको पछिल्लो सिर्जना करिम विवादमा तानिएको छ ।

५ दिनअघि आफ्नै यूट्युव च्यानलमार्फत सार्वजनिक भएको १५ मिनेट लामो गीतले बादी समूदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै गीत हटाउन नगर प्रमुखले नै माग गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उजुरी दिएपछि विवाद सतहमा आएको हो ।

रुकुमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीले प्रतिष्ठानमा उजुरी दिएका हुन् । उनले बादी समूदायमाथि माफी मागेर गीत हटाउन माग गरेका छन् ।

नेपालको संविधानको धारा २४ मा जातीय छुवाछूत तथा विभेदविरुद्धको हकमा भएको उत्पत्ति, जात, जाति वा शरीरिक अवस्थाको कुनैपनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने कार्य गर्न नहुने हकको बर्खिलाप हुनेगरी तयार गरिएको उक्त सामाग्रीले वादी समुदाको मौलिक हकमा समेत आघात पुगेको पत्रमा उल्लेख छ।


उता गीतका सर्जक दुतराजले पनि गीतमा आफूले गल्ती गरेको महसुस भएको जनाएका छन्। विरोधका आवाज उठेलगत्तै उनले शुक्रबार नै सामाजिक सञ्जालमार्फत् गीतमा गल्ती गरेको आभास भएको उल्लेख गरेका थिए।

इतिहास पढे र बुझेअनुसार कथा र गीतलाई प्रस्तुत गरेको बताउँदै प्रकाशले त्यसमा आफ्नो गलत मनशाय नरहेको स्पष्ट पारेका छन्।

विवाद र चर्चाबीच उक्त गीतले युट्युबमा सार्वजनिक भएको पाँच दिनमा ६ लाख १९ हजार भ्यूज प्राप्त गरेको छ।

प्रकाशित मिति : २०८१ जेठ ६ गते आइतबार