काठमाडौं । मंगलबार ओरालो लागेको सुनचाादीको भाउ आज बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो घटेको थियो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो ।
संवाददाता । बुधबार, माघ ०२, २०८१ मा प्रकाशित