दैलेख । दैलेखको पर्यटन प्रबर्द्धनका लागि भन्दै सञ्चालन गरिएको पर्यटन महोत्सव कमाउ धन्दामा परिणत भएको छ । महोत्सब सञ्चालनको जिम्मेवारी लिएका निकायहरुले न्यूनतम १० लाखमा महोत्सवलाई ठेक्कामा विक्री गरेको रहस्य खुलेको छ । महोत्सव ठेक्का लिने व्यक्तिले केही रकम बुझाई सकेको र बाँकी रकम पछि प्रदान गर्ने सहमति भएको भएपनि, महोत्सव घाटामा गएपछि यस्तो रहस्य खुलेको हो । महोत्सव ठेक्का लिएका व्यक्तिहरुले दैनिक लाखौ रकम कलाकारलाई तिर्नु परेको तर महोत्सव हेर्न जनताको न्यून उपस्थिती भएपछि बाँकी रकम नदिने सोचमा ठेकेदार पुगेको खुलेको छ ।
महोत्सवको मुल नारा पर्यटन प्रवद्र्धन भनेर राखिएको भएपनि उद्घाटनका दिनदेखि आजसम्म एउटा पनि स्थानीय कला संस्कृतिको झाँकी देखाइएको छैन् । कुन स्थानको पर्यटन प्रवद्र्धन हुने हो खुलाईएको छैन् नारायण नगरपालिकाले योजना बिनै राजनीतिक पहुँचका भरमा महोत्सव सञ्चालनको जिम्मेवारी दिएको भन्दै कतिपय उद्योगीहरु समेत नगरपालिकाको कामप्रति आक्रोशित देखिएका छन् । जिल्लाको कला संस्कृति संरक्षण भनेर नारा बनाउने र चारपाँच जना व्यक्तिहरुले पर्यटनको नाममा महोत्सवलाई ठेक्कामा विक्री गरेर लाखौं रकम कमाउने धन्दा जिल्लाको लागि गैर जिम्मेवारीपन भएको उद्योगीहरुको गुनासो छ ।
यती मात्र हैन नारायण नगरपालिकाले दश लाख रुपैयाँ महोत्वका लागि छुट्टाउनुपर्ने दवाव समेत थियो तर बिरोध धेरै भएपछि रकम नदिने भएको एक कर्मचारीले
बताए । नेताले दवाव दिएपछि महोत्सव सञ्चालनको जिम्मेवारी दिन बाध्य भएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् । नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्कालाई महोत्सव सञ्चालन गर्ने बारेमा थाहा नभएका कारण महोत्सव उद्घाटनमा नगएको बताईएको छ ।
टिकट र कलाकारको जिम्मा ठेकेदारले लिने र सो वापत १० लाख रकम आयोजकलाई दिनुपर्ने बिषय उल्लेख गरिएको छ । अन्य सरकारी कार्यालय र स्थानीय सरकारले दिएको रकम समेत आयोजकले आफै राख्ने सहमती भएको खुलेको छ । १० लाख रकम दिने भनेर सम्झौता गरेका ठेकेदार दिन दिनै घाटामा जान थालेपछि सम्झौता अनुसारको रकम दिन नसकिने भन्दै आयोजक र ठेकेदारवीच बिवाद समेत चुलिएको छ ।
महोत्सव भित्र अवैध जुवा र खुल्ला मदिरा
महोत्सव स्थल काँडाचौरभित्र अवैध जुवा सञ्चालन गरिएको छ । गाउँबाट आएका सोझा नागरिकहरुलाई अवैध जुवा खेलाएर हजारौं रकम लुट्ने काम भएको प्रति स्थानीयहरु आक्रोशित देखिएका छन् । नयाँ वर्षको दिन महोत्वस स्थल भित्र अवैध जुवा खेलाएको र युवाहरुले हजारौं रकम फालेको गुनासो गरेपछि स्थानीय अगुवा युवा नेता ओमजंग थापाले यसको बिरोध गरेका थिए । क्वाईन जुवा खेलाएको अवस्थामै उनले क्वाइन कब्जा गरे, जिल्ला प्रशासनमा फोन गरे, अवैध जुवा खेलाईएको जानकारी गराए । अवैध खेलको बिरोध भएपछि केही युवालाई रकम फिर्ता गरेको बाहना बनाएर महोत्सव सञ्चालक उम्किएको उनको गुनासो छ ।
सबै सेटिगंमा चलेका कारण कसैलाई कारवाही हुँदैन यो एकदमै लापरवाही हो थापाको गुनासो छ ।
यति मात्र हैन महोत्सव स्थलभित्र मदिराको खुल्ला व्यापार गरिएको छ । मदिरा सेवन गरेर टाउकोमा बियरको बोलत हिर्काउने काम समेत भएको एक स्थानीय
बताए ।
संवाददाता । शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित