सुर्खेत । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पाँच वर्षे कार्यकाल अन्तिम चरणमा छ । सुवेदीको पाँच वर्षे कार्यकाल यही वैशाख ३० गतेबाट सकिदै छ । पाँच वर्षे कार्यकालमा विवादरहित काम गरेका नगर प्रमुख सुवेदीले आफ्नोे कायकालमा राज्यबाट प्राप्त गरेको तलव भत्ता वापतको रकम विपन्न वर्गका लागि खर्चिने भएका छन् । सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु तेह्र लाख पचास हजार रुपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने भएका हुन् ।
गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना गरेका छन् । समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ ।
यस्तै, फाउण्डेसनले सामाजिक क्षेत्रमासमेत काम गर्नेछ । सडक, पुल, पाटी, पौवा लगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षणको पूर्ण जिम्मेवारी फाउण्डेसनको रहने छ, भने कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक वन, कबूलियत वन जङ्गलको संरक्षण तथा सम्बद्र्धन, जडिबुटी वृक्षरोपण, राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि उर्जा, जडिबुटीको सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिका फाउण्डेसनको रहने सुवेदीले जानकारी दिए ।
संवाददाता । शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित