सुर्खेत । बेलाबेलामा बजारमा नेपाली रूपैयाँका नक्कली नोट फेला पर्छन्। धेरैजसो पाँच सय र एक हजार दरका नक्कली नोट बजारमा भेटिएको समाचार आइरहेका हुन्छन् ।
राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेरहेको हुन्छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह समेत गरेको छ ।
नक्कली नोटहरु झट्ट हेर्दा उस्तै देखिन्छ। अब सक्कली र नक्कली नोट भनेर कसरी चिन्ने त ? यसबारेमा केही जानकारीहरु यसप्रकार रहेका छन् ।
-सक्कली नोटमा आँखाले देख्न सकिने केही विशेषताहरू रहेका हुन्छन्। यसबारे पहिचान गरेर कुनै पनि रुपैयाँ सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ।
१) सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ। नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रूपमा देखिंदैन।
२) सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRP लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन। नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ।
३) सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन ।
४) सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।
-राष्ट्र बैंकको सहयोगमा
संवाददाता । मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित