Karnali Media
२०८३ साउन ११ , सोमबार

३ करोड लगानीमा वीरेन्द्रनगरमा दोहोरी साँझ, किचन बार संचालन, ५६ जनालाई रोजगारी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लेजेन्ड ग्रुप अफ कम्पनी प्रालिले अत्याधुनिक किचन बारसहित दोहोरी साँझ सञ्चालनमा ल्याएको छ। वीरेन्दनगर ६ न्यूरोडमा ‘भिन्टेज किचन बार तथा चौतारी दोहोरी साँझ’ बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

दोहोरी साँझको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले गरेका हुन्। किचन बार तथा दोहोरी साँझको उद्घाटन गर्दै शाहीले लगानीकर्ताको लगानीको सुरक्षा नभएसम्म पाहुनाले राम्रो सुविधा नपाउने र व्यवसायी जोखिममा पर्ने खतरा रहेको बताए।


सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले रोजगारी सिर्जना गर्नमा किचन बार तथा दोहोरी साँझ ठूलो प्लेटफर्म रहेको बताए। व्यवसायीलाई सफल बनाउन सबै कर्णालीबासीको दायित्व रहेको उनको भनाइ छ। लगानीकर्ताको तर्फबाट बोल्दै उपेन्द्र खड्काले रेष्टुरेन्ट र दोहोरी साँझ आउने ग्राहकको पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएकाले ढुक्क भएर सेवा लिन आग्रह गरे।

कम्पनीमा सुर्खेतका युवा व्यवसायी उपेन्द्र खड्का, डम्बर गौतम, विशाल ढकाल र मानव बमको साझेदारी रहेको छ। यो समूहले यस अघि फेसियल हाउस, हर्बल स्पा सञ्चालनमा ल्याइसकेको छ। तीन करोड लगानीमा एउटै घरमा फेसियल हाउसदेखि रेष्टुरेन्ट, बार, दोहोरी साँझ व्यवसाय शुरु गरेको लगानीकर्ताले जनाएका छन्। यसबाट ५६ जनाले रोजगारी पाएका छन ।

प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार