नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ फिल्म ‘जारी’ले यो उखानलाई चरितार्थ गरिदिएको छ । टिजर रिलिज हुँदासम्म फिल्मको व्यापार बलियो हुने अपेक्षा फिल्मकर्मीलाई मात्र होइन, टिमकै सदस्यहरुलाई पनि थिएन । त्यसमाथि फिल्मको प्रदर्शन पटक(पटक सर्दै आएको थियो । तर, जब ट्रेलर र ‘चरी बस्यो’ गीत रिलिज भयो त्यसपछि फिल्मको हाइप ह्वात्तै चुलियो ।
प्रदर्शनको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा प्राप्त उत्कृष्ट प्रतिक्रिया र मल्टीप्लेक्सहरुले उपलब्ध गराएको शोको टिकट एड्भान्स बुकिङमै आक्रामक विक्री भएपछि फिल्मको ओपनिङ नै बम्पर भयो । ‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले पहिलो हप्ता साढे ७ करोड जोड्यो । दोस्रो हप्तामा बलिउड सुपरस्टार सलमान खानको फिल्म रिलिज हुँदा समेत ‘जारी’को व्यापार कमजोर भएन ।
दुई हप्तामा १३ करोड कमाएको फिल्म तेस्रो हप्तामा पनि बलियो देखिएको छ । प्रायः हलमा आइतबार समेत फिल्मको अुकपेन्सी ५० प्रतिशतमाथि छ । फिल्मले प्रदर्शनको तीन हप्तासम्ममा १५ करोड नजिक कमाई गर्न सक्ने प्रक्षेपण गरिएको छ । शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’ समेत ‘जारी’को अगाडि अत्यन्त निरीह देखिएका छन् ।
फिल्मले नेपालमा मात्र होइन, विदेशमा पनि आक्रामक कमाई गरिरहेको छ । यतिबेला निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्मको प्रदर्शनका लागि बेलायतमा छन् । त्यहाँ फिल्मको हरेक शो हाउसफुल भैरहेको जानकारी प्राप्त छ । निर्देशक सुब्बाले जारी प्रथालाई मियो बनाएर प्रेमकथामार्फत् लिम्बू परम्परा, भाषा र संस्कृतिलाई पनि पस्किएका छन् ।
संवाददाता । आइतबार, बैशाख १७, २०८० मा प्रकाशित