काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुविर महासेठ र नारायणकाजी श्रेष्ठ लगायतले बिदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।
संवाददाता । आइतबार, जेठ २७, २०८१ मा प्रकाशित