काठमाडौं। नेपाली कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न शीतल निवासले तयारि गरिरहेको छ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भोलि प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी थालेको शीतल निवास स्रोतले बताएको छ।प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथ ग्रहण भोलि नै हुने भएको छ।
कांग्रेस र एमालेको १७ असारको सहमतिसँगै नयाँ सरकार संविधानको कुन धारा अनुसार भन्ने बहस निकै चर्कोसँग भयो। बहसका बीच एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्नुभएको हो ।
वरिष्ठ अधिवक्ता सिताराम केसीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी संविधानसम्मत भएको बताउनुहुन्छ। दुई वा दुई भन्दा धेरै दलहरुको समर्थनमा सरकार निर्माण प्रक्रिया धारा ७६(२) को प्रावधान नै भएकाले ओलीको दाबीमा कुनै पनि संवैधानिक संकटहरु नआउने उहाँको तर्क छ ।
अब ओलीको नेतृत्वमा बनेको सरकारले ७६ (४) अनुसारको विश्वासको मत लिन सकेन भने मात्रै ७६(३) मा स्वतः जाने भएकोले अहिलेको स्थितीमा ओली नै प्रधानमन्त्री हुने अधिवक्ता केसीको भनाइ छ ।
नेकपा एमालेका नेता एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पनि ओलीको दाबी संविधानसम्मत भएको बताउनुहुन्छ । कानूनविद् पनि पार्टीगत धारणा अनुसार बाँडिएका हुनाले फरक फरक धारणा आएको उहाँको भनाई छ।
कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू हिजो शीतल निवास पुग्नु भएको थियो ।
प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो पदमुक्त हुनुभएको हो। शुक्रबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा प्रधानमन्त्री प्रचण्ड असफल भएपछि राष्ट्रपति पौडेलले साँझ नै आइतबारसम्मको समयावधि दिएर नेपालको संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहयोग प्राप्त सरकारका लागि आह्वान गर्नुभएको थियो ।
सोहीअनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगै शीतल निवास पुगेर राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको हो । राष्ट्रपतिले नियुक्ति दिन आइतबारसम्मको समय लिनुभएको छ ।
संवाददाता । शनिबार, असार २९, २०८१ मा प्रकाशित