कुनै पहाडको फेँदितिर एक नदी किनारमा एक किसानको खेत थियो । मानिसहरूको बस्तीबाट अली टाढा र निर्जन भएको हुनाले त्यो खेतमा काम गर्न कुनै पनि कामदार जान मान्दैनथे । यसको मुख्य कारण के थियो भने त्यो खेतमा बाली पाकिसके पछी समयमै त्यो बाली भित्र्याएन भने हावाहुरी र झरीले त्यसलाई क्षणभरमै सखाप पारीदिन्थ्यो । जती कामदार त्यस खेतको रेख्देख गर्न राखे पनि उनिहरू न त्यहाँ बस्थे नत खेतिबालीको नै रक्षा गर्थे ।
जब हावाहुरी र असिना झरी पर्थ्यो तब खेतमा लगाइएको बालिनाली नासिएर जान्थ्यो । जती तलब दिदा पनि कुनै कामदार त्यो खेतमा बस्न नमाने पछी अन्तिममा एउटा अधबैसेँ मान्छेले त्यहा बस्ने इच्छा ब्यक्त गर्छ । उसले जमिन्दारलाई भन्छ-“ठीक छ म तपाईंको खेतको रेखदेख गर्न त्यता जान्छु तर जब झरी असिना पर्छ म काम गर्नेवाला छैन म सुत्छु ।” आखिर हुरी, बतास, झरी र असिनाबाटै जोगाउनको लागि कामदार राख्न खोजिएको तर काम गर्नेवालाले नै “जब झरी असिना पर्छ तब म सुत्छु” भन्छ बा…. त्यस्तो मान्छेलाई खेतको हेरचाह गर्न पठाउनु कि नपठाउनु जमिन्दार् निक्कै बेर दोधारमा पर्छ।
अन्तमा आखिर कुनै व्यक्ती जान मान्दैन भने उसलाई भए पनि पठाउनु पर्यो भनेर त्यही “झरी पर्दा सुत्छु” भन्ने ब्यक्तिलाई नै उसले आफ्नो बालिनाली हेरचाह गर्ने जिम्मा दिएर टाढाको त्यो खेततिर पठाउँछ । दिनहरू बित्दै जान्छन, त्यो कामदारले त्यो खेतमा रहेको एक्लो कटेरोमा बस्ने र दिनभर बालिनालिको हेरचाह गर्ने काम गर्छ । उसले साँच्चिकै खेतमा राम्रो काम गरेको थियो,बाली पनि राम्रो सप्रेको थियो,खाली जमिनमा फलफूलका बिरुवाहरु लगाएको थियो । यस्तैमा एक दिन त्यहाँ ठुलो हावाहुरिको साथमा घनघोर असिना पानी पर्न थाल्छ । संयोग कस्तो भैदिन्छ भने ठीक त्यही दिन नै जमिन्दार आफ्नो बालिनाली पाक्यो कि पाकेन भनेर हेर्न त्यो टाढाको खेततिर जादै थियो ।
जब जमिन्दारले घनघोर असिना र हावा हुरी आउन लागेको देख्यो उसको सातोपुत्लो उड्यो,उसले मनमनै सोच्यो-“लौ बर्बाद भो खेतमा धान ठीक्क पाकेर काट्ने बेला भएको थियो, फलफूलका बिरुवामा भर्खर भर्खर दाना लाग्दै थिए लौ खत्तमै पार्ने भो हुरिले” । यस्तै यस्तै सोच्दै जब ऊ आफ्नो खेतमा रहेको कटेरोमा पुग्छ त, बालिनालीको रक्षा गर्न राखेको कामदार मस्तसँग घुर्दै सुत्दै गरेको छ । रिसले चुर भएको जमिन्दारले कटेरोको ढोका लात्तिले हान्दै-“ओेई गधा छिटो उठ,असिना हुरी आउन थाल्यो,बालिनाली सुरक्षित ठाउँमा थन्क्याउनु पर्यो । उठ” भन्छ । तब भित्रबाट कामदारले ढोका नै खोल्दैन बा । उसले निदाएको स्वरमा भन्छ “मैले तपाईंलाई पहिले नै भनेको होइन जब झरी पर्छ म सुत्नेछु भनेर ।”
कामदारको कुराले एकदमै मुर्मुरिएर रिसाएको त्यो जमिन्दारले यसो आफ्नो खेत तिर हेर्छ त खेतमा रहेको धानबाली त सबै काटेर छाप्रोमा थन्क्याइएको छ, परालको पनि ठुलो कुन्यू बनाएर पानी नघुस्ने गरी राखिएको छ त्यती मात्र होइन, हावा हुरिले बिनास नगरोस भनेर फलफूलका बिरुवाहरूको वरिपरि पनि बलियो प्रखाल लगाइएको छ । यस्तो देखेर साह्रै खुशी र अचम्मित् भएको त्यो जमिन्दारले बल्ल बुझ्छ कि उसको कामदारले झरी र असिना पर्दा सुत्नेछु भनेको के रहेछ भनेर । यो कथामा भने जस्तै यदी हामीले समयमा नै आफ्नो काम गरेका छौ भने प्रतिकूल परिस्थितीमा हामीले आराम गरेर बस्न सक्छौ ।
तर यदी समय छँदा नै आफ्नो कामलाई आलटाल गर्यो भने पछी हामी पछुताउनु पर्ने हुन्छ । आफ्नो परिक्षा आउनु अगाडि नै राम्रो तयारी गर्ने विद्यार्थीलाई परिक्षाको समयमा धेरै तनाव झेल्नु पर्दैन । जसले अन्य अवस्थामा हल्लिएर बस्ने परिक्षा नजिक आउँदा बल्ल पढ्न तम्सिने गर्छ उसले धेरै दु:ख पाउने मात्र होइन राम्रो ग्रेड समेत ल्याउन सक्दैन । यसर्थ यो कथामा भने जस्तै झरी असिना पर्दा सुत्नको लागि घाम लागेको दिनमा मज्जाले काम गर्नु पर्छ ।
कथा लेखक मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्यानरत छन् ।
लोक प्रसाद रिजाल । बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित