दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औं संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।
नेपाल रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ । यी राष्ट्र नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी हुन् । त्यसमा पाकिस्तान दुई पटकको विजेता हो । यू–१९ मा नेपालका लागि यी कुनै नौला प्रतिद्वन्द्वी होइनन् ।
समूह चरणमा खेल्ने टोलीसँग नेपाल परिचित छ । तर ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा नेपाल जितविहीन हुने त होइन भन्ने पनि छ । किनभने समूहका अन्य तीन टोलीको स्तर नेपालभन्दा माथि छ ।
संवाददाता । बुधबार, माघ १०, २०८० मा प्रकाशित